काठमाडौं । दुर्गा प्रसाद प्रसाईले सम्पातिको स्रोत लुकाउन राउण्ड ट्रिपिङ्ग, रिलेटेड पार्टी ट्रान्सजेक्सन जस्ता शंकास्पद कारोबार गरेको भेटिएको छ । प्रसाई विरुद्ध बैंकिङ कसूर र सम्पति शुद्धीकरण सम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा मुद्दा परेपछि गरिएको अनुसन्धानले यस्तो देखाएको हो । सिआईबीले सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ अनुमति लिई अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानको क्रममा प्रसाईले तत्कालीन एनसिसि बैंक (हालको कुमारी बैंक) बाट पूर्वाञ्चल अस्पतालको नाममा प्रवाह भएको १२ करोड ५० लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैकबाट एट्रियम होटलको नाममा प्रवाह भएको ५ करोड रुपैयाँ र गुडविल फाइनान्सबाट यूए मेडिको सप्लाईज एण्ड इक्विपमेन्टको नाममा प्रवाह भएको १० करोड रुपैयाँ कर्जाको दुरुपयोग गरेको भेटिएको छ । उनले जुन प्रयोजनको लागि लिएको हो सो प्रयोजनमा प्रयोग नगरी अन्यत्र दुरुपयोग गरेको देखिन आएको ब्यूराेले जनाएको छ ।
त्यस्तै, प्रसाईले आफ्नो र परिवार, सम्बद्ध फर्म, कम्पनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकमहरु जुन प्रयोजनको लागि लिएको हो सोही प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरेको भेटिएको छ । उनले विभिन्न बैंक वित्तीय संस्थामा रहेको कर्जा चुक्ता गर्न अर्को कर्जाको रकम उपयोग गरेको, आफु र आफु सम्बद्ध कम्पनीहरूले बैंक वित्तीय संस्थाबाट कर्जा लिंदा उल्लेख गरेको प्रयोजन भन्दा अन्यत्र कर्जाको रकम उपयोग गरी कर्जा दुरुपयोग गरेको समेत भेटिएको पाइएको छ ।
बैंकवाट लिएको कर्जा व्यवसायमा मात्र प्रयोग गर्नुपर्ने र व्यवसायको आम्दानी कर्जा भुक्तानीमा प्रयोग गर्नु पर्नेमा ठुलो रकम पेश्कीको रुपमा प्रसाईले आफु र आफु सम्बद्ध कम्पनीहरूलाई प्रदान गरेको ब्यूरोको अनुसन्धानले देखाएको छ ।
विगत चार वर्ष देखि बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई र पूर्वाञ्चल क्यान्सर हस्पिटललाई प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाखा नाघि कर्जाको बक्यौता साँवा ब्याज भुक्तानी नियमित नभएको समेत पाइएको छ ।
प्रसाईले परियोजनाको लागत वृद्धि गरी परियोजनालाई आवश्यक पर्ने भन्दा बढी कर्जा उपयोग गरेको पाइएको छ । ऋणी फर्म, कम्पनीका अन्तिम हिताधिकारी दुर्गा प्रसाद प्रसाई रहेको पाइएको छ । प्रसाईले बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को दफा ८ मा रहेको कर्जाको दुरुपयोग गर्न नहुने भन्ने व्यवस्थाको उल्लंघन गरेको, परिवार र आफ्ना फर्म, कम्पनीका विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाताहरूमा राउण्ड ट्रिप्रिङ्ग, रिलेटेड पार्टी ट्रान्सजेशन लगायतका शंकास्पद कारोवारहरु भएको ब्यूरोको अनुसन्धानले देखाएको छ ।
प्रसाई माथि बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम थप अनुसन्धान गरी कारवाही गर्न नेपाल राष्ट्र बैंकले गत माघ २३ गते ब्यूरोलाई पत्र पठाएको थियो ।