काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ वटा फाइनान्स कम्पनीहरू घाटा व्यहोरेका छन् । कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ कम्पनीले घाटा व्यहोर्दा १२ कम्पनीले नाफा कमाएका छन् ।
यो अवधिमा धेरै घाटा व्यहोर्नेमा रिलायन्स फाइनान्स रहेको छ । यस कम्पनी १७ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको छ । तर, कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा भने घाटा घटाएको छ । गत आवको चैत मसान्तसम्म कम्पनीको घाटा ३७ करोड ४ लाख रुपैयाँ थियो ।
यसैगरी, जानकी फाइनान्सको घाटा झनै बढेको छ । गत आवको चैतसम्म १० करोड ८६ लाख रहेको घाटा चालु आवको चैतसम्म १२ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आवको चैतसम्म नाफा कमाएकाे बेष्ट फाइनान्स र गोर्खाज फाइनान्सले पनि चालु आवको चैत मसान्तसम्म आइपुग्दा घाटा व्यहोरेका छन् । बेष्टले ७ करोड ५२ लाख र गोर्खाजले ६ करोड २१ लाख घाटा ब्यहोरेका छन् । ४८ प्रतिशतले घाटा घटाएको समृद्धि फाइनान्सलाई अझै ३ करोड ५७ लाख रुपैयाँ घाटा नै छ ।
धेरै नाफा कमाउनेमा आईसीएफसी फाइनान्स अगाडि छ । आईसीएफसीले ४८७ प्रतिशतले नाफा वृद्धि गरेको छ । चालु आवको चैत मसान्तसम्म कम्पनीको खुद नाफा १९ करोड ५० लाख पुगेको छ । यसैगरी, मञ्जुश्री फाइनान्सको खुद नाफा १७ करोड ११ लाख र प्रोग्रेसिभ फाइनान्सको खुद नाफा ९ करोड ४ लाख रुपैयाँ छ ।
प्रोग्रेसिभ गत आवको चैतसम्म ५ करोड ४९ लाख रुपैयाँले घाटामा थियो ।
१३ प्रतिशत नाघ्यो औसत एनपीएल
१५ वटा फाइनान्स कम्पनीहरूको औषत एनपीएल १३.०९ प्रतिशत पुगेको छ । गत आवको चैत मसान्तसम्म ९.१४ प्रतिशत रहेको औषत एनपीएल चालु आवको सोही अवधिमा १३.०९ प्रतिशत पुगेको हो ।
६ वटा कम्पनीको एनपीएल १० प्रतिशत भन्दा धेरै रहेको छ । सबैभन्दा धेरै एनपीएल जानकी फाइनान्सको रहेको छ । जानकीको एनपीएल ४४.४१ प्रतिशत पुगेको छ । गत आवको चैत मसान्तसम्म यस कम्पनीको एनपीएल २९ प्रतिशत थियो ।
आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ र समृद्धिले भने एनपीएल घटाएका छन् । अन्य १२ वटा कम्पनीको एनपीएल बढेको छ ।