शीर्षकहरू

एकताको महाधिवेशन नबिथोल्न घलेको आग्रह

एकताको महाधिवेशन नबिथोल्न घलेको आग्रह

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले एकताको महाधिवेशन नबिथोल्न आग्रह गरेका छन् । आगामी मेमा आयोजना गरिने महाधिवेशनको विषयमा जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संयोजक घलेले महाधिवेशन नबिथोल्न आग्रह गरेका हुन् ।

अदालतको आदेश बमोजिम महाधिवेशन गर्न लागिएको हो । महाधिवेशन बिथोल्ने काम गरेमा अदालतको मान हानी हुने भन्दै महाधिवेशन रोक्ने गतिविधि नगर्न सचेत गराएका हुन । ‘हामीले सर्वोच्च अदालतको आदेश बमोजिम महाधिवेशन गर्न लागेका हौ । यो महाधिवेशन बिथोल्नु भनेको अदालतको निर्णयको विरोधमा जानु हो । यसले अदालतको मानहानि हुनेछ,’ उनले भने । अदालतले दिएको आदेश र मिति भित्र उच्चस्तरीय समितिले महाधिवेशन गर्न लागेको हो । 

उच्च स्तरीय समितिले आगामी मे ३ देखि ५ मा महाधिवेशन सम्पन्न हुने बताएको छ । कुनै प्राकृतिक विपत बाहेकका अवस्थामा महाधिवेशन नरोकिने संयोजक घलेले ठोकुवा गरेका छन्  । ‘कुनै प्राकृतिक विपद हुँदा बाहेक अन्य अवस्थामा महाधिवेशन रोकिँदैन । सकेसम्म त्यस्ता प्राकृतिक विपद नआओस् भन्ने कामना गर्छौ,’ उनले भने । 

अप्रिल ७ सम्ममा गैर आवासीय नेपाली संघको पोर्टलमा पञ्जीकृत सदस्यताका लागि निवेदन दिनेहरु मे ३–५ मा काठमाडौंमा हुने महाधिवेशनमा डेलिगेट्स हुन सक्नेछन् । महाधिवेशनका लागि विभिन्न मुलुकबाट डेलिगेट्स नेपाल आउने क्रम शुरु भएको उनले बताए । ‘विभिन्न मुलुकबाट काठमाडौँमा आउने क्रम सुरु भएको छ । धेरै जना जहाजको टिकट काटेर बस्नु भएको छ । तर, केही समूह भने महाधिवेशन विथोल्नका लागि भ्रामक सूचना फैलाई रहेका छन्,’ उनले भने । 

समितिले आयोजना गर्न लागेको एकताको अधिवेशनले एनआएनएको विधान बनाउने उनले बताए । यो महाधिवेशनमा काठमाडौ आई पुग्ने जो कोहिले भोट दिएर आफ्नो नेतृत्व चयन गर्न पाउनेछन् । डेलिगेट्सले जुनसुकै पदमा उम्मेदवारी दिन सक्ने उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै समितिको आर्थिक जिम्मेवार सम्हाल्दै गएका संघका पूर्व अध्यक्ष कुल आचार्यले डेलिग्रेटसका लागि करिब १४ हजार रुपैयाँ तोकिएको बताए । हालसम्म ६० जनाले शुल्क भुक्तानी गरि सकेका छन् । अप्रिल २५ सम्ममा शुल्क भुक्तानी गरिसक्नु पर्ने पनि उनले बताए । त्यस्तै, महाधिवेशनको लागि ५९ लाख ६० हजारको प्रयोजनको प्रतिबद्धता आएको पनि उनले बताए । न्यूनतम ५० हजार देखि २५ लाख रुपैयाँसम्म प्रायोजन गर्न सकिने उनले उनले जानकारी दिए । 

त्यस्तै, समितिका सदस्य विनोद कुँवरले डेलिगेट्सका लागि उच्च स्तरीय समितिले समितिको वेबसाइटमा गएर आवश्यक प्रक्रिया पुरा गरेर आवेदन दिन सकिने बताए । ‘डेलिगेटस बन्न निवेदन दिने मिति २२ अप्रिल (वैशाख ९)  सम्म रहेको छ ।  त्यसैले संघको वेब पोर्टलमा गएर मात्रै निवेदन दिन हामी आग्रह गर्छौँ’, उनले भने । विभिन्न मुलुकबाट करिब २७०० डेलिगेट्सले दर्ता गरेको उनले जानकारी दिए । अन्तिम दिनसम्ममा डेलिगेट्सको संख्या ३ हजार पुग्ने उनले बताए । ‘हामीले विभिन्न मुलुकमा पुगेर एनसिसिसँग छलफल ग¥यौ । उहाँहरूले आफ्नै सिस्टममा दर्ता गराएको सदस्य संख्या उपलब्ध गराउँछौ भन्नु भएको छ,’ उनले भने । 

समितिका सदस्य सचिव जानुका गुरुङले विभिन्न मुलुकबाट करिब ६० हजारले दर्ता गराएको बताइन् । ७३ वटा मुलुकबाट नेपालीहरूले नाम दर्ता गराएको उनले बताइन् । समितिले बनाएको वेव पोर्टलबाट रजिटे«शन गरिएको पनि उनले जानकारी दिइन् ।