काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा गत चैत २० गते राखेको ३० अर्ब परिपक्क भएपछि केन्द्रीय बैंकले थप ३५ अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो ।
बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत यस अघि संकलन भएको १ खर्ब ३३ अर्ब १० करोड रकम परिपक्क हुन बाँकी छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति वैशाख २८ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले गत आइतबार पनि ३० अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा १६ बैंक तथा वित्तीय संस्थाले ५१ अर्ब ४५ करोड जम्मा गर्न चाहेकोमा केन्द्रीय बैंकले मागेजति ३० अर्ब मात्र लिएको थियो । जसको औसत ब्याजदर २.९८ प्रतिशत कायम भएको थियो ।
अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा अधिकतम ३ प्रतिशतसम्म ब्याजदर पाउँछन् । स्थायी निक्षेप सुविधाको ब्याजदर भने ३ प्रतिशत निश्चित गरिएको छ भने निक्षेप संकलनको ब्याजदर भने बोलकबोल मार्फत निर्धारण हुन्छ । अधिक तरलता भएको अवस्थामा निक्षेप संकलनको ब्याजदर कम हुन्छ भने कसिलो अवस्थामा ब्याजदर बढ्छ ।
लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ । अधिक तरलताको अवस्था झनै बढ्दै गएपछि राष्ट्र बैंकले नियमित रुपमा स्थायी निक्षेप सुविधा एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ ।