शीर्षकहरू

विदेशमा रहेका नेपालीका लागि छुट्टै बीमा पोलिसीको माग

विदेशमा रहेका नेपालीका लागि छुट्टै बीमा पोलिसीको माग

काठमाडौं । विदेशमा रहेका नेपालीलाई लक्षित गरी छुट्टै बीमा पोलिसी सञ्चालनमा ल्याउन सरोकारवालाहरुले नेपाल बीमा प्राधिकरणलाई आग्रह गरेका छन् । नेपालको ठूलो जनसंख्या विदेशमा छ । त्यसैले उनीहरुलाई नै लक्षित गरी छुट्टै बीमा पोलिसी निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले सावधिक, आजीवन र म्यादी जीवन बीमा पोलिसी विक्री गर्दे आएका छन् । यही पोलिसीलाई आधार बनाएर बजारको आवश्यकता अनुसार पोलिसी निर्माण गर्ने प्रचलन छन् । वैदेशिक रोजगारीमा गएका श्रमिकलाई लक्षित गरी बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी सञ्चालनमा ल्याएको छ । तर, यो पोलिसी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका श्रमिकले मात्रै खरिद गर्न पाउँछन् । 

तर, सावधिक र आजीवन बीमाको हकमा भने विदेशमा भएका नेपालीलाई लक्षित गरी कुनै पोलिसी सञ्चालन नगरिएको बीमा क्षेत्रका अभियन्ता प्रभावकार न्यौपानेले बताए । विभिन्न जीवन बीमा कम्पनीमा काम गरिसकेको न्यौपानेका अनुसार प्राधिकरणले विदेशमा बस्नेलाई नै लक्षित गरी छुट्टै पोलिसी जारी गर्नुपर्ने आवश्यकता भएको औल्याए । ‘भारतमा विदेशमा बस्ने भारतीय नागरिकको लागि अलग्गै पोलिसी छ । भारतीय जीवन बीमा कम्पनीहरूले त्यही पोलिसीलाई प्रमोट गर्दै आएका छन् । तर, नेपालमा भने प्राधिकरणले यस्तो व्यवस्था गर्न सकेको छैन,’ उनले भने । 

अहिले बीमा कम्पनीहरूले विदेशमा बस्ने नेपालीलाई पनि सावधिक र आजीवन बीमा पोलिसी नै विक्री गर्दै आएका छन् । अनलाईन भिडियो कलबाट विमितको मूल्याङ्कन गरी फारम भरिन्छ । नेपालमा रहेको बिमितका परिवारले बीमाशुल्क भुक्तानी गर्ने प्रचलन छ । तर, बीमा पोलिसी खरिद गर्दा भर्ने फारममा विदेशमा रहेको भन्ने व्यवस्था नै छैन । ‘पोलिसी फारममा विदेशमा बस्छु, विदेशको कम्पनीमा काम गर्छु वा वैदेशिक रोजगारी भनेर राख्ने ठाउँ नै छैन,’ उनले भने । त्यसैले आगामी दिनमा यस्ता खालका पोलिसीमा नीतिगत समस्या हुन सक्ने उनले बताए ।  

अहिले त कम्पनीले पोलिसी विक्री गरेका छन् । कम्पनीको आम्दानी राम्रो देखिएको छ । तर, विमितको विदेशमा नै मृत्यु भएमा वा दुर्घटना भएमा के कसरी भुक्तानी गर्ने भन्ने पोलिसीमा छैन । ‘विदेशमा नै दुर्घटनामा भएमा के गर्ने भन्ने व्यवस्था नै छैन,’ उनले भने । त्यसैले भारत सरकारले जस्तै विदेशमा बस्नेको लागि छुट्टै पोलिसीको आवश्यकता छ । 

त्यस्तै, गैर आवासीय नेपालीलाई पनि आकर्षित गर्ने प्राधिकरणसँग पोलिसी छैन । भारतले भारतीय नागरिकता र बैंकमा खाता नभएका गैर आवासीय भारतीय नागरिकलाई लक्षित गरेर पोलिसी ल्याइएको छ । प्राधिकरणले पनि त्यस्तै पोलिसी डिजाइन गर्नुपर्ने उनले बताए । 

नेपालमा बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरण र कम्पनीले पनि बीमा पोलिसी बनाउने चलन छ । बीमा कम्पनी आफैले बीमा पोलिसी निर्माण गर्न सक्ने ऐनले व्यवस्था गरेको छ । तर, कम्पनीले निर्माण गरिएका पोलिसीलाई बीमा प्राधिकरणले प्रमाणीकरण गर्नुपर्छ । कम्पनीले आफुले बनाएको पोलिसी विक्री अनुमतिको लागि प्राधिकरणमा बुझाउनुपर्छ । प्राधिकरणले पोलिसीको आवश्यकता र उपयोगिताको अध्ययन गरी विक्री अनुमति दिने प्राधिकरणकी निर्देशक पुजन ढुङगेलले बताइन् । 

पोलिसी निर्माण गर्दा एक्चुअरीले मूल्यांकन गर्नुपर्छ । पोलिसीको बजारमा उपयोगिता, बीमितको हित र नाफामुखीको मूल्यांकन गर्नुपर्छ । यसरी मूल्याङ्कन गर्नका लागि नेपालमा एक्चुअरीको अभाव छ । जसका कारण कम्पनीहरूले आवश्यकता अनुसारको पोलिसी निर्माण गर्न नसकेको उनले बताइन् । ‘नेपालमा एक्चुअरीको अभाव छ । विदेशी एक्चुअरीसँग काम गर्दा धेरै खर्च हुन्छ,’ उनले भने । त्यसैले पनि नेपाली बजारको आवश्यकता अनुसारको पोलिसी बन्न नसकेको उनले बताइन् ।