काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८’ ऋणपत्रमा आवेदन दिने आज (वैशाख १२) अन्तिम दिन रहेको छ । बैंकको ऋणपत्र बैशाख ७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो ।
यसअघि पर्याप्त आवेदन नपरेपछि म्याद थप गरी वैशाख २१ गतेसम्म आवेदन दिन पाउने भनिएको थियो । तर पर्याप्त आवेदन परेपछि आजै निष्कासन बन्द हुने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।
कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य रु एक हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ ।
रु दुई अर्ब ५० करोड बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ ।
यस्तै, ४० प्रतिशतले हुने रु एक अर्ब बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्काशन हुनेछ । त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कूल नौ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ । सो बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैैंकको अधिकृत पूँजी रु ३० अर्ब, जारी पूँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार र चुक्ता पूँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार बराबर छ ।