काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ नयाँ भ्रष्टाचार काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारको कथा बजारमा छर्लङ आइराखेको बताएका हुन् ।
उनले भने, ‘देश अस्तव्यस्त अवस्थामा छ । एक महिना हुन लागिसक्यो शिक्षक आन्दोलन, मिटरव्याजी आन्दोलन, सहकारी पीडित आन्दोलन, डाक्टरहरुको आन्दोलन र कर्मचारीहरुको पनि तयारी हुन गैइराखेको छ । नयाँ नयाँ भ्रष्टाचार काण्ड आइराखेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पर्मलोडको कथा बजारमा छर्लङ आइराखेको छ ।’
साथै, उनले भ्रष्टाचार काण्डहरु ओझेलमा पार्नको लागि यो सरकारले राजावादीहरुले अस्थिरता ल्यायो देशमा भनेर आरोप लगाइरहेको बताए । उनले सदनमै पनि राजावादीहरुलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको समेत बताए।
उनले भने, ‘भ्रष्टाचारका यी काण्डहरु ओझेलमा पार्नको लागि अब सरकारले राजावादीहरुले अस्थिरता ल्यायो देशमा भनिकन यही सदनमा पनि यी राजावादीहरुलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको छ । हो हामी राजा चाहिन्छ यो देशमा भन्ने पार्टीका मान्छे हौं । यदी हामीबाट कुनै कमिकमजोरी भएको छ भने कारवाहीको सजाय भोग्न हामी तयार छौं । यदी देशको उन्नती र प्रगती गर्न यी भ्रष्टाचारीहरुलाई छिनोफानो गर्नुपर्ने छ ।’