काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानून समय सापेक्ष परिवर्तन हुनुपर्ने बताएका छन । सोमवार काठमाडौंमा अखिल नेपाल ट्रेड यूनियनद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन । उनले कुनै पनि ऐन कानुन सेवा प्रदान गर्ने हेतु सहुलियत र सहजताका लागि भएको हुना समय सापेक्ष र आवश्यकताका आधार ऐन र कानुनहरु परिवर्तन हुनु पर्ने बताए ।
अहिले श्रम ऐन संशोधन प्रकृयामा अगाडि बढेको जिकिर गर्दै सरोकारवालाहरुको सहमतिमा बनाएका ऐन र कानूनहरु सबै पक्ष मिलेर अनिवार्य लागु गर्नु पर्नेमा उनले जोड दिए ।
मन्त्री भण्डारीले सबै सरोकारवालाको सहकार्य र सहमतिमा बनाइएको ऐन लागु गर्ने दायित्व पनि सबैको भएको बताए । उनले वर्तमान श्रम ऐनमा के के कुराहरु व्यवहारिक छैन त्यसका बारेमा गम्भीर छलफल गरी सुझाव दिन पनि आग्रह गरे ।
सरकार ऐन कानुन लागु गर्न तयार रहेको स्पष्ट पार्दै त्यसका लागि ट्रेड यूनियनहरु पनि एक ढिक्का भएर अगाडि बढनु पर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले भने, सरकार ऐन कानुन लागु गर्न तयार छ, ट्रेड यूनियनहरु पनि त्यसका लागि तयार हुनुपर्छ ।
ट्रेड यूनियनद्धारा श्रमिक आयोग गठनको माग अगाडि सारिएको माग जायज रहेको जिकिर गर्दै त्यसका लागि आवश्यक पहल लिन समेत सुझाए । यसका लागि सबै ट्रेड यूनियनमा आवद्ध संघ संस्थाहरु एक ढिक्का भएर अगाडि बढनु पर्ने बताए ।
एक अर्को प्रसंगमा मन्त्री भण्डारीले कुनै पनि नेपाली कामदार देश बाहिर कहिकतै दुःख पाए त्यसका लागि सरकार जिम्मेवार हुनु पर्ने बताए । उनले भने, कुनै पनि नेपाली महिला वा पुरुष श्रमिक देश बाहिर श्रम स्विकृती बिना काम गर्ने वातावरणको अन्तय हुनु पर्छ, तिनीहरुलाई श्रम स्वीकृति लिने वातावरण बताउन सबै मिलेर काम गर्नुपर्छ ।