शीर्षकहरू

‘आयात–निर्यातको पारवहन खर्च घटाउन राज्य सम्वेदनशील छैन’

‘आयात–निर्यातको पारवहन खर्च घटाउन राज्य सम्वेदनशील छैन’

वीरगञ्ज । नेपाली महावाणिज्य दूत झक्क प्रसाद आचार्यले भारतको कोलकाता र हल्दिया बन्दरगाहमा व्यापारीलाई आईपर्ने कुनै पनि समास्याको समाधान गर्ने  प्रतिवद्धता व्यक्त गरेका छन । सोमबार वीरगञ्जमा आयोजीत अन्तरक्रिया सहभागीहरुले उठाएको प्रश्नलाई सम्बोधन गर्दै महावाणिज्य दूत आचार्यले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।

अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसंग नेपाली आयात तथा निर्यातकर्ताहरुले भोग्नु परेका समस्या तथा समाधानका विषयबारे बोल्दै महाबाणिज्य दुतावास कोलकत्ता सधै सक्रिय रहेको बताए । महावाणिज्यदूत झक्कप्रसाद आचार्यले नेपाली महावाणिज्य दूतावास, कोलकाताको कार्यक्षेत्र, प्रदान गर्दै आएको सेवा बारेमा विस्तृत जानकारी गराए । 

उनले आयात निर्यातका क्रममा नेपाली उद्योगी÷व्यवसायीहरुले कलकाता पोर्ट, हल्दिया पोर्ट लगायत पोर्टहरुमा आई पर्ने समस्याको समाधानको लागि महावाणिज्य दूतावास सदैव तत्पर रहेको स्पष्ट पारे ।

उनले कोलकाता महावाणिज्य दुतावासको कार्यक्षेत्र भित्र पर्ने ट्रेड फेसिलिटेशन, पर्यटन क्षेत्रको प्रवद्र्धन र स्तरोन्नतिका लागि विगतका वर्षहरुदेखि नै भूमिका निर्वाह गर्दै आइरहेको बताए । 
कतिपय समस्याहरु भारतीय उच्च पदस्थ अधिकारीसँग समन्वय गरेर समाधान गर्नुपर्ने हुँदा समन्वय र सहकार्यमा केही समय व्यतित हुने गरेकोबाट पनि समाधानमा ढिलाई हुने उनको भनाइ थियो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ–मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले आयात निर्यातका क्रममा आउने अप्ठ्याराहरुको समाधानको लागि नेपाली महावाणिज्य दूत कार्यालय, सम्बन्धीत भन्सार केन्द्र र उद्योग वाणिज्यहरुले सेतुको काम गर्न सक्ने भएकोले यी निकायहरुबीच समन्वय हुनुपर्ने धारणा व्यक्त गरे  । 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आयात निर्यातका क्षेत्रमा आई पर्ने व्यवहारिक समस्याबारे महावाणिज्य दूतावासको ध्यानाकर्षण गराएका थिए । 

भन्सार प्रशासक लामिछानेले नीतिगत समस्याको पहिचान गरी समाधानका उपाय खोज्ने र कलकाता पोर्ट र हल्दिया पोर्टका साथै आईसिपी र आईसिडीसँग जोडिएका व्यवहारिक कठिनाईलाई संयुक्त सहकार्यमा समाधान गर्न  बैठक सहयोगी हुने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव राजपालले मुलुकको आपूर्ति व्यवस्थालाई सन्तुलित तुल्याउन आयात निर्यातले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको बताए । कार्यवाहक अध्यक्ष राजपालले आयातका क्रममा खर्चहरु कटौती गर्दै नेपालमा आयात हुने सामानहरुको लागत कटौती गरी प्रतिस्पर्धी बनाउँदै जानुपर्ने बताएका थिए । 

त्यस्तै, शिपिङ्ग कम्पनीहरुले विभिन्न शुल्कका नाउँमा आयातकर्ताहरुबाट रकम असुल्ने कार्य गरिरहेकोले नेपालमा आयात हुने सामानहरुको लागत बढ्दै गइरहेको  र यस्ता शुल्कहरु कटौती गर्दै जानुपर्ने गुनासो व्यक्तगरे । 

उनले शिपिङ्ग कम्पनीहरुले कन्टेनर डिटेन्शन चार्ज, कन्टेनर मेन्टिनेन्स चार्ज, कन्टेनर रिपेयर चार्ज लगायतका नाममा नेपाली आयातकर्ताहरुबाट रकम असुल गरिरहेका र यसरी एउटै प्रकृतिको कामको लागि दोहोरो रकम असुल गरिरहँदा आयातकर्ताहरुले आयात गरेको सामानहरुको लागत पनि बढिरहेको बताउए ।

त्यस्तै शिपिङ्ग कम्पनीहरुलाई तिर्नु पर्ने रकम पठाउनको लागि प्रोपर च्यानल नभएकोले आयातकर्ताहरु अनावश्यक कठिनाई व्यहोर्नु परिरहेको बताउँदै शिपिङ्ग कम्पनीहरुको सम्पर्क कार्यालय वीरगञ्जमा स्थापना हुनुपर्नेमा जोड 
दिएका थिए । 
प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रशासन कार्यालयले उद्योग, व्यापारको लागि प्रवद्र्धनात्मक एवम् ट्रेड फेसिलिटेशनको कार्य गर्दै आएको बताए ।

कार्यक्रममा वक्ताहरुले कलकाता पोर्ट, हल्दिया पोर्ट लगायतका पोर्टहरु, एकीकृत भंसार जाँचचौकी, सुख्खा बन्दरगाह भंसार कार्यालयहरुमा भोग्नु परेका समस्या र सोको समाधानको लागि सरोकारवाला निकायहरुले खेल्न सक्ने भूमिकाका बारे प्रष्ट परेका छ। 

वीउवासङ्घका उपाध्यक्ष आशिषकुमार लाठले यस्ता खालक कार्यक्रमले भन्सार क्षेत्रका समस्या समाधान गर्न सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा वीरगञ्ज भंसार कार्यालयका प्रमुख भंसार प्रशासक दीपक लामिछाने, प्रमुख भंसार अधिकृत राजेन्द्र ढुङ्गाना, रामप्रसाद पाठक, सुक्खा बन्दरगाह भंसार कार्यालयका प्रमुख भंसार अधिकृत धनबहादुर बडुवालको सहभागीता रहेको थियो । 

त्यस्तै, नेपाली महावाणिज्य दूतावास, कलकाताका अधिकारीहरु, नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष तथा पदाधिकारीहरु, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा का.स.स., उद्योग÷व्यवसायीहरुको उपस्थिति रहेको थियो ।