शीर्षकहरू

चैतसम्ममा ७ करोड ७९ लाखको सिमकार्ड नेपाल भित्रिए

चैतसम्ममा ७ करोड ७९ लाखको सिमकार्ड नेपाल भित्रिए

काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो नौ महिनाको अवधिमा नेपालमा ७ करोड ७९ लाख ६२ हजार रुपैयाँ बराबरको सिम कार्ड भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत चैत महिनासम्ममा सो रकम बराबरको २१ लाख ४२६ थान सिम कार्ड आयात भएको विभागको प्रतिवेदनमा उल्लेख छ । 

नेपालमा प्रविधिको विकास भएसँगै टेलिकम प्रयोगकर्ताको संख्या पनि दिनप्रति दिन बढ्दै गएको छ । एकै व्यक्तिले एक भन्दा बढी सिम प्रयोग गर्ने हुँदा पनि यसको खपत बढेको हो । 

विभागको तथ्यांक अनुसार सिम कार्ड आयातबाट नौ महिनामा १ करोड ९१ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १३ मुलुकबाट सिम कार्ड आयात भएको छ ।

तथ्यांक अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी चीनबाट सिमकार्ड भित्रिएको छ । यो अवधिमा चीनबाट ७ करोड ६७ लाख ३५ हजार रुपैयाँ बराबरको २० लाख २ हजार ४४ थान सिम कार्ड आयात भएको छ । त्यस्तै, मेक्सिकोबाट ४ लाख ४३ हजार बराबरको ६५००० थान, बेलायतबाट ४ लाख ७० हजार बराबरको २०६०० थान, अस्ट्रेलियाबाट १ लाख ६७ हजार बराबरको ९५०१ थान सिम कार्ड नेपाल भित्रिएको छ । 

यसैगरी दक्षिण कोरियाबाट २३ हजार बराबरको १५०० थान, अमेरिकाबाट ३६ हजार बराबरको ६१७ थान, जापानबाट ६९ हजार बराबरको ५०० थान, क्यानडाबाट ३ हजार बराबर ५०१ थान, भारतबाट १० हजार बराबरको १५१ थान सिम कार्ड भित्रिएको छ ।

यस्तै बेल्जियमबाट ६ थान सिम कार्ड भित्रिएको छ । सर्बियाबाट १ हजार बराबरको ४ थान, पोल्याण्डबाट ४ हजार बराबरको १ थान र डेनमार्कबाट १ थान सिम कार्ड आयात भएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल टेलिकम प्राधिकरणको तथ्यांक अनुसार गत चैत मसान्तसम्ममा टेलिफोन सेवा प्रयोगकर्ताको संख्या २ करोड ९६ लाख ९८ हजार ८२७ पुगेको छ । नेपाल दूरसञ्चारको फिक्स सेवा (पिएसटिएन) प्रयोगकर्ताको संख्या ३५ हजार ५४४ पुगेको छ भने एफटिटिएच भ्वाइस प्रयोगकर्ताको संख्या तीन लाख ७५ हजार ६२८ पुगेको छ । मोबाइल प्रयोगकर्ताको संख्या एक करोड ५० लाख १० हजार ३०४ पुगेको छ । एनसेल प्रयोगकर्ताको संख्या भने एक करोड ४२ लाख ७६ हजार २८२ पुगेको छ ।