काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा गत चैत २५ गते राखेको ३१ अर्ब ३० करोड तथा चैत २७ गते राखेको ११ अर्ब ८० करोड गरेर कुल ४३ अर्ब १० करोड परिपक्क भएपछि केन्द्रीय बैंकले थप ५० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो ।
बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत यस अघि जम्मा गरेको १ खर्ब १६ अर्ब ७० करोड रकम परिपक्क हुन बाँकी छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति जेठ ७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले गत बुधबार ३५ अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा १४ बैंक तथा वित्तीय संस्थाले २६ अर्ब ७० करोड जम्मा गरेका थिए । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो । वैशाख महिना लागेपछि मात्रे केन्द्रिय बैंकले ३ पटक निक्षेप संकलन उपकरण जारी गरेको छ ।
लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ । अधिक तरलताको अवस्था झनै बढ्दै गएपछि राष्ट्र बैंकले नियमित रुपमा स्थायी निक्षेप सुविधा एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ ।