शीर्षकहरू

सानिमा रिलायन्स लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

सानिमा रिलायन्स लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले दोस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट’ प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो ।

मुलकोटस्थित रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै ५ ओभर खेलेर एक विकेटको क्षतिमा जम्मा ३२ रन जोड्न सक्यो ।

सानिमा रिलायन्सलाई लगातार दोस्रो पटक कर्पोरेट महिला क्रिकेटको उपाधि जिताउन कप्तान स्वस्तिका कार्कीको योगदान निकै नै महत्त्वपूर्ण रह्यो । सूर्य नेपाल विरुद्धको फाइनल खेलमा प्लेयर अफ दि म्याच घोषित कार्कीले प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड पनि प्राप्त गरिन् ।

शनशनीपूर्ण प्रदर्शन गरेकी कार्कीले प्रतियोगिताभर कुल ३ पटक प्लेयर अफ दि म्याच अवार्ड प्राप्त गरिन् । यस्तै सानिमा रिलायन्सकी रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दि म्याच पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताभरि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि सानिमा रिलायन्सकै कप्तान स्वस्तिका कार्की बनिन् ।

एन इभेन्टस्को आयोजना रहेको प्रतियोगिता वैशाख १२ देखि १३ गतेसम्म चलेको थियो । प्रतियोगितामा कुल ९ टिम सहभागी थिए भने प्रति पारी ५ ओभर खेलाइएको थियो ।