काठमाडौं । पछिल्लो २ कारोबार दिन लगातार दोहोरो अंकले घटेको शेयर बजार बुधबार पनि घटेर बन्द भएको छ । पछिल्लो ३ कारोबार दिनमा नेप्से सूचक करिब ३८ अंकले घटेको छ । अब शेयर बजार आगामी आइतबार मात्र खुल्नेछ । विहीबार श्रमिक दिवसको सार्वजनिक विदा रहेकाले कारोबार बन्द रहने छ भने शुक्रबार र शनिबार शेयर बजार सधै बन्द रहने गरेको छ ।
बुधबार नेप्से परिसूचक ८.१४ अंक घटेर २६२३.८३ विन्दुमा झरेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएकोमा बुधबार ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन बढेको उपसमूहरूको वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। जसको ५८ करोड ४ लाख २४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब ५३ करोडको शेयर कारोबार भएको छ ।