शीर्षकहरू

अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग

अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग

गण्डकी । पोखरामा आज आयोजित कार्यक्रमका सहभागी उद्योग व्यवसायीहरूले सुस्ताएको अर्थतन्त्रलाई गति दिने बजेट ल्याउन माग गरेका छन् ।

पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग भएको अन्तक्र्रियाका वक्ताहरूले अर्थतन्त्रलाई गतिशिल बनाउने किसिमको बजेट अहिलेको आवश्यकता औल्याए  ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री हुनुपर्नेमा जोड दिए ।

अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने बताउँदै उनले यसतर्फ सरकारको ध्यान आकृष्ट हुनुपर्ने आवश्यकता औँल्याए ।

पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने खालका कार्यक्रमको अपेक्षा राखिएको उल्लेख गर्दै उनले पोखरा उद्योग वाणिज्य संघले यहाँको शिक्षा, स्वास्थ्य, पर्यटनको विकास तथा कृषिको व्यवसायीकरणका निम्ति निरन्तर पैरवी गर्दै आइरहेको बताए ।

आफूहरूले निजी क्षेत्रको हितमात्र नभई समग्र पोखराको विकासका निम्ति पनि उत्तिकै क्रियााशिल रहेको जानकारी गराए । सिन्धुपाल्चोकका व्यवसायीसँग रहेको हिमालपार व्यापारको अनुभव र त्यसको महत्वबारे उल्लेख गर्दै उनले गण्डकी प्रदेशको कोरोला नाका सुचारु हुँदा समग्र गण्डकी क्षेत्रका व्यवसायीको निम्ति नयाँ सम्भावनाको ढोका खुल्ने धारणा राखे ।

कोरोलामा नेपालतिर खासै भौतिक संरचना नबने पनि चीनसँग आयात र निर्यातको काम गर्ने अवसर आएको उनको भनाइ छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले अहिले खासा र रसुवा नाकाबाट निर्यातभन्दा बढी आयात मात्र हुने गरेको जानकारी दिँदै आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघका समस्याप्रति बढी ध्यान दिनुपर्ने भन्दै उनले महासंघमा वास्तविक समस्या बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्ने धारणा राखे ।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले देशैभरका उद्योगीरव्यवसायीहरु अहिले एउटै समस्याले पीडित भएको बताउँदै सुस्ताएको बजार चलायनमान बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघलाई मोफलसका समस्याप्रति गम्भीर बनाउनका निम्ति जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको एकताबद्ध प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपमहासचिव सुदीप प्रधानांगलगायतले उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्ने गरी बजेट आउनुपर्ने धारणा राखे ।