काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आव २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै गत आवमा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आव २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्थ रहेको विवरण सार्वजनिक गरेको छ ।
नेपालमा पहिलो पटक आर्थिक वर्ष २०१८/१९ मा राष्ट्रिय लेखा अनुमान तयार गरिएको थियो । आव २०२१/२२ देखि भने नियमित रुपमा तथ्यांक सार्वजनिक गरिदै आएको कार्यालयका निर्देशक ऋषि राम सिग्देलले बताए । कार्यालयले चालु आवमा २०८१/८२ को राष्ट्रिय लेखाका प्रारम्भिक अनुमानका साथै अघिल्ला दुई वर्षको राष्ट्रिय लेखा अनुमानको परिमार्जन गर्ने अभ्यास बमोजिम आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमान र २०७९/८० को अन्तिममान प्रकाशन गरेको उनले बताए । चालु आर्थिक वर्षको राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान तयार गर्दा उपलब्ध तथ्याङ्कको आधारमा छ देखि नौ महिनासम्मका उपलब्ध आँकडा प्रयोग गरिएको छ । बाँकी अवधिको अनुमानका लागि तथ्याङ्कीय विधि प्रयोग गरिएको उनले बताए ।
कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधु सुदन बुर्लाकोटीले प्राप्त तथ्यांक अनुसार नेपालको अर्थतन्त्र सुधार हुँदै गएको बताए । कोभिड पछि घटेको नेपालको आर्थिक वृद्धि दर सुधारिएको उनले दाबी गरे । ‘प्राप्त तथ्यांकको विश्लेषण गरेपछि यो बर्ष अर्थतन्त्र सुधारको गतिमा रहेको भन्न सकिन्छ । तथ्यांक सत्यको नजिक छन्,’ उनले भने ।
कार्यालयले प्रकाशित गरेको राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान आव २०६७/६८ को मूल्यमा आधारित छन् । त्यसैगरी, आर्थिक वृद्धि दर मापन गर्नको लागि स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ उत्पादन प्रयोग गरिएको कार्यालयले जनाएको छ । जसअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि दर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।
आधारभूत मूल्यको आर्थिक वृद्धिदर आव २०८०/८१ मा ३.३६ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७९/८० मा २.२९ प्रतिशत कायम भएको विवरण सार्वजनिक गरिएको छ । त्यसैगरी उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०/८१ मा ३.६७ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७९/८० मा १.९८ प्रतिशत कायम भएको छ ।
अर्थतन्त्रमा निश्चित अवधिभित्र सञ्चालन भएका सबै आर्थिक क्रियाकलापबाट उत्पादित वस्तु तथा सेवाको प्रवाह र मौज्दात लगायत सोसँग सम्बन्धित संस्थागत एकाइ बीचको कारोबारको मापन गरी लेखा राखे प्रणालीलाई राष्ट्रिय लेखा प्रणाली भनिन्छ । यो प्रणालीको मार्गदर्शन बमोजिम अर्थतन्त्र भित्र सञ्चालित आर्थिक क्रियाकलापको तथ्याङ्कीय मापन गरी कुल गार्हस्थ उत्पादन, आय, उपभोग, बचत जस्ता आर्थिक परिसूचक तयार गर्ने कार्य राष्ट्रिय लेखा अनुमान अन्तर्गत पर्दछ । राष्ट्रिय लेखा अनुमान गर्न संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, आर्थिक विकास तथा सहयोगका लागि संगठन जस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा संयुक्त रूपमा विकास गरेको राष्ट्रिय लेखा प्रणालीले मार्गदर्शन प्रदान गर्दछ ।