काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ उत्पादनमा वित्तीय तथा बीमा क्षेत्रको ६.६५ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर ६.२९ प्रतिशत हुने अनुमान गरिएको छ ।
बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धि दर ७.९४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धि दर ७.९२ प्रतिशत कायम भएको छ ।
त्यस्तै, चालु आव २०८१/८२ मा उद्योग क्षेत्रको कुल गार्हस्थ उत्पादनमा ४.९८ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धि दर ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित तथ्याङ्क अनुसार गत आव २०८०/८१ मा उद्योग क्षेत्रको वृद्धि दर ऋणात्मक (–२.०२ प्रतिशत) रहने अनुमान गरिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्ष यस क्षेत्रको ऋणात्मक वृद्धि (-१.७० प्रतिशत) कायम भएको छ । यस क्षेत्रमा अघिल्लो दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा ऋणात्मक वृद्धि दर देखिए तापनि चालु आर्थिक वर्षमा भने सुधारको संकेत देखिएको छ । खासगरी वनस्पति तेल, प्लाईउड, प्लाष्टिकको पाईप फिटिङ्ग, पेय पदार्थ, सिमेण्ट, साबुन, लगायतका वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ ।
साथै, भट्टमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोईला लगायत कच्चा पदार्थको आयतमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारणले पनि उद्योग क्षेत्रको उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।