शीर्षकहरू

५ वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा, लक्ष्मी सनराइजमा संचालकको मनपरी, स्ट्याण्डर्ड चार्टर्डलाई १५ करोड जरिवाना

५ वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा, लक्ष्मी सनराइजमा संचालकको मनपरी, स्ट्याण्डर्ड चार्टर्डलाई १५ करोड जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई सरकारीसहित ५ वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दै केन्द्रिय बैंकले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज तथा ट्याण्डर्ड चार्टर्ड बैंकलाई कारवाही गरेको हो । कर्जा नोक्सानी व्यवस्थापनमा ध्यान नदिएको तथा कर्जा प्रवाहमा राष्ट्र बैंकको निर्देशन उल्लंगन गरेपछि राष्ट्र बैंकले कारवाही गरेको हो । यता तोकिएको उत्पादनशिल (कृषि, उर्जा, लघु एवं साना तथा मझौला) क्षेत्रमा कर्जा प्रवाह नगरेको भन्दै स्ट्याण्डर्ड चार्टर्डलाई झण्डै १५ करोड जरिवाना तिराएको छ ।

केन्द्रीय बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार केही कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेपछि कारवाही गरको हो । त्यस्तै, केही कर्जाहरुको जोखिम भार गणना गर्दा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भार गणना नगरेको तथा चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको नपाइएकोले सो बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको जनाएको छ ।

यस्तै कुमारी बैंकले पनि सूक्ष्म निगरानी कर्जा तथा निष्कृय कर्जालाई वर्गीकरण नगरेको तथा न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हुँदा सो बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशनहरुको पालना नगरेकोले लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिईएको छ । उक्त बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्ष रुपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज बैंकले कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरुको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको पाइएको थियो । नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरु सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको तथा चालु पुँजी कर्जाका लागि ब्रिज ग्याप कर्जा प्रदान गरी लामो समयपश्चात् उक्त कर्जालाई आवधिक कर्जामा परिणत गर्ने गरिएको हुँदा कर्जा जोखिम व्यवस्थापनमा बैंक गम्भिर नरहेको पाइएपछि कारवाही गरेको जनाएको छ।

यस्तै, लक्ष्मी सनराइज बैंकले संस्थापक शेयरधनीका लागि ऋण लिने सन्दर्भमा शेयर धितो राख्नु पूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा त्यस बैंकको दुई प्रतिशतभन्दा बढि शेयर धारण गर्ने एक संस्थापक शेयरधनीले धारण गरेको लक्ष्मी सनराइज बैंक लिमिटेडको संस्थापक शेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट कर्जा लिँदा केन्द्रीय बैंकको स्वीकृति नलिई निजको संस्थापक शेयर धितोबन्धक राखेको तथा कर्जा उपयोग गरेको अभिलेख बैंकले नराखेकाले कारवाही गरिएको जनाएको छ ।

यसैगरी नेपाल बैंक र त्यस बैंकका प्रमुख कार्यकारी अधिकृत बीच भएको सम्झौता अनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजना बिच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च ब्यवस्थापन तहमा रहेका कर्मचारीहरु बिच आपसी समन्वय गर्न÷गराउन नसकेको देखिएकोले नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

नेपाल बैंक सञ्चालक समितिका तत्कालिन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाईदा हुने क्रियाकलापमा संलग्न रहेको भन्दै ५ लाख जरिवाना गराएको छ । 

यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई  १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ जरिवाना तिराएको छ । आ.व. २०८१/८२ को दोस्रो त्रयमास २०८१ पुस मसान्तसम्मको अवधिमा उक्त बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको पाइएपछि सो जरिवाना तिराएको हो । 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...