काठमाडौं । गत आर्थिक वर्षको मध्यतिरबाट बैंकमा बढेको अधिक तरलता अहिले नेपाली बैंकिङ क्षेत्रकै समस्याका बनिसकेको छ । बजारमा माग घट्दा र व्यवसायमा शिथिलता छाउँदा अपेक्षितरुपमा कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन । जसले गर्दा बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निकै सकश परेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार वैशाख १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६८ खर्ब ३६ अर्ब रहेको छ । यसअवधिमा बैंकहरुले ५५ खर्ब ८ अर्ब मात्रै कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफुसँग भएको निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्छन् । तर, त्यो अनुपात अहिले ७९.३६ प्रतिशतमा रहेको छ । यसलाई हेर्दा बैंकहरुसँग अझै ६ खर्ब ४४ अर्ब भन्दा माथि रकम लगानी गर्न सक्ने अवस्थामा छन् ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंक र वाणिज्य बैंकहरूलाई तरलता व्यवस्थापनमा हम्मेहम्मे हुन थालेको छ। अधिक तरलताका कारण बैंकहरुले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशत पुगेको छ । ३ प्रतिशतभन्दा तल झर्न नदिनका लागि राष्ट्र बैंकले विभिन्न बैंकहरुबाट रकम तानेको तानै गर्नुपरेको छ । व्यवसायीहरुमा कर्जाको माग गर्नेभन्दा पनि ऋण तिर्नुपर्ने दबाब रहेकाले गर्दा कर्जा विस्तार हुन नसकेको बताइएको छ । अहिले बैंकहरूमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ ।
बैंकहरुमा अधिक तरलताको समस्या यथावत रहेपछि राष्ट्र बैंकले विभिन्न उपकरणहरुमा मार्फत तरलता प्रशोचन गर्दै आएको छ । राष्ट्र बैंकले बुधबार वैशाख १७ गते बुधबार मात्रै ५० अर्ब रुपैयाँ तानेको छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनको लागि सो रकम खिचेको हो । जसको औसत ब्याजदर २.९७ प्रतिशत कायम भएको छ ।
बोलकबोलमा २६ वटा बैंक तथा वित्तीय संस्थाबाट ४४ वटा आवेदन मार्फत १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ राष्ट्र बैंकमा राख्न चाहेको थिए । तर, राष्ट्र बैंकले मागेजति ५० अर्ब रुपैयाँ मात्र लिएको छ । यो रकमसहित बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा निक्षेप संकलन उपरकरण मार्फत जम्मा गरेको रकम १ खर्ब ६६ अर्ब ७० करोड परिपक्क हुँन बाँकी देखिन्छ । चालु आर्थिक वर्ष सुरु भए यता निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले ६९ पटकमा २३ खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ खिचेको छ ।
राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपकरण दिन बिराएर (आइतबार, मंगलबार र बिहीबार) छोटो अवधिका लागि निश्चित ब्याजदरमा प्रणालीको पैसा प्रशोचन गर्ने र पठाउने नियमित कार्य गरिरहन्छ । हाल वाणिज्य बैंकहरुमा मात्रै ६१ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । तर, बैंकहरूले भने कुल ४८ खर्ब ९२ अर्ब रुपैयाँबराबरको मात्रै कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकनुसार वाणिज्य बैंकहरु बाहेकका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा ७ खर्ब ३३ अर्ब निक्षेप रहेको छ । ती संस्थाहरुले कर्जा प्रवाह ६ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६८ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप छ भने कर्जा प्रवाह कुल ५५ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ ।
पछिल्लो दुई वर्षमा देखिएको आर्थिक शिथिलताले कर्जाको माग नबढेपछि बैंकहरुले पनि निरन्तर ब्याजदर घटाउँदै गएका छन् । बढ्दो रेमिट्यान्सलगायतका कारण बैंकहरूमा तरलता थुप्रिएको छ । बैंकहरू आफैंले कर्जा बढाउने अवस्था नरहेको तथा सरकारबाट ठोस योजना नआउँदा वित्तीय प्रणालीमा तरलताको समस्या यथावत रहेको बैंकहरुको गुनासो छ । सिडी रेसियोको आधारमा कर्जा प्रवाहका लागि सबै वाणिज्य बैंकहरु सहज अवस्थामा रहेपनि केही बैंकहरुको पुँजी प्रयप्तता कम हुँदा कर्जा प्रवाहमा असहजता रहेको उनीहरुको भनाई छ । अधिक तरलता बढ्दै गएपछि समग्र अर्थतन्त्रमा जोखिम बढ्न थालेको विश्लेषण समेत हुन थालेको छ ।