शीर्षकहरू

विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा, डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता ४४ अर्ब ५४ करोड

विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा, डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता ४४ अर्ब ५४ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ ।  शुक्रबार पत्रकारसम्मेलनको आयोजना गर्दै निर्देशक हेतेन्द्रदेव शाक्यले श्वेत पत्र सार्वजनिक गरेका हुन् । श्वेत पत्र सार्वजनिक गर्दै उनले हालसम्म प्राधिकरण हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख गरे । 

उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको जानकारी गराएका हुन् । 

उनले भने,‘आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आ.व.को फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिन्छ ।’

त्यस्तै उनले, आ.व.२०८०।८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिएको उनको भनाइ छ । 

‘यसर्थ महालेखाको प्रतिवेदन अनुसार लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदाहरु मध्ये संस्थाले ७ अर्ब १९ करोड खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढि लेखांकन गरेको तथा २९.९१ करोड आम्दानी नबाँधेको देखिन्छ । समग्रमा आ व.२०८०।८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिन्छ । यसमा संभावित दायित्व समेत वापत हुन आउने नोक्सानी संलग्न छैन,’ उनले भने । 

नेपाल सरकारको प्राधिकरणमा शेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, संचित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडा तर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको पनि उनले जानकारी गराए । 

उनले १४ अर्ब १० करोड बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी छ रहेको भन्दै जुन विगतका वर्षदेखि बाँकी रही आएको भएतापनि नेपाल सरकारबाट प्राप्त हुन नसकेको बताए ।  

उनका अनुसार २०८१ अषाढ मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित २०८१ फाल्गुनसम्म प्राधिकरणको जम्मा बक्यौता ४४ अर्ब ५४ करोड रहेको छ ।