शीर्षकहरू

आन्तरिक ऋण उठाउन २० अर्बको ट्रेजरी बिल नवीकरण गरिँदै

आन्तरिक ऋण उठाउन २० अर्बको ट्रेजरी बिल नवीकरण गरिँदै

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन सोमबार २० अर्ब बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २० अर्ब ८ करोड बराबरको ट्रेजरी बिल नवीकरणका लागि प्रस्ताव माग गरेको छ । 

कार्यालयले वैशाख २२ गते सोमबार २८ दिने अवधिको ५ अर्बको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । त्यस्तै १८२ दिने अवधिको ९ अर्ब रुपैया तथा ३६४ दिने अवधिको ६ अर्ब ८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गर्न लागेको हो । बोलकबोलमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । 

पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ, जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । यसअघि गत वैशाख १५ मा भएको बोलकबोलमा ९१ दिन अवधिको १३ अर्ब १० करोडको ट्रेजरी बिलको खरिदका लागि २७ अर्ब ४ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९५ प्रतिशत कायम भएको थियो ।

यस्तै, १८२ दिन अवधिको १३ अर्बको ट्रेजरी बिल खरिदका लागि ३४ अर्ब १५ करोड रुपैयाँ बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९८ प्रतिशत कायम भएको थियो । ३६४ दिन अवधिको २ अर्बको ट्रेजरी बिल खरिदका लागि १८ अर्ब ४० करोड रुपैयाँ बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट ३ प्रतिशत कायम भएको थियो ।

त्यसअघि वैशाख ८ मा भएको बोलकबोलमा २८ दिन अवधिको १० अर्बको ट्रेजरी बिलको खरिदका लागि २१ अर्ब ५९ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९७ प्रतिशत कायम भयो । ९१ दिन अवधिको ५ अर्ब २५ करोडको ट्रेजरी बिलको खरिदका लागि १८ अर्ब ५३ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९६ प्रतिशत कायम भएको थियो ।

यस्तै, १८२ दिन अवधिको ६ अर्बको ट्रेजरी बिल खरिदका लागि १८ अर्ब ५५ करोड रुपैयाँ बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९८ प्रतिशत कायम भयो । यसैगरी, ३६४ दिन अवधिको ४ अर्ब करोडको ट्रेजरी बिल खरिदको लागि २० अर्ब २५ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट ३.०३ प्रतिशत कायम भएको थियो । 

पछिल्लो समयमा ट्रेजरी बिल खरिदमा पनि बैंकहरुबीच उच्च प्रतिस्पर्धा देखिएको छ । वित्तीय प्रणालीमा प्रशस्त तरलता रहेकाले बैंकहरुले अन्यत्र लगानी गर्न नसक्दा सस्तो ब्याजदरमै भएपनि विभिन्न अल्पकालिन उपकरणहरुमा लगानी गर्दै आएका छन् । जसले गर्दा ट्रेजरी बिल खरिदमा पनि मागभन्दा निकै धेरै आवेदन गर्ने गरेका छन् । जसले गर्दा व्याजदर पनि घटेको छ । ब्याजदर सस्तो भएको मौकामा सरकारले पनि सार्वजनिक उठाउने क्रमलाई तिब्रता दिएको छ । 

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ ।

बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ ।

ट्रेजरी बिलको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन ।
 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...