शीर्षकहरू

लघु उद्यम विकास कार्यक्रमबाट तिलोत्तमा नगरपालपकाले स्थानीयलाई उद्यमशील बनाउँदै

लघु उद्यम विकास कार्यक्रमबाट तिलोत्तमा नगरपालपकाले स्थानीयलाई उद्यमशील बनाउँदै

भैरहवा । “स्वदेशमै रोजगारी, स्वदेशमै उत्पादन” भन्ने मूल नाराका साथ अगाडि बढाइएको कार्यक्रममा नगरवासीहरूलाई स्वरोजगारका लागि आवश्यक तालिम, स्रोत, उपकरण र प्राविधिक सहयोग प्रदान गरिँदै आएको छ। रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले गरिबी निवारण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो। 

नगर प्रमुख रामकृष्ण खाँण भन्छन्, “देशमा केही छैन भनेर युवाहरू विदेश पलायन भइरहेका छन्। तर, हाम्रो प्रयास भनेको यहीँ स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउनु हो। त्यसैले हामीले सीप तालिमसहित लघु उद्यम स्थापना र प्रोत्साहनका लागि यो कार्यक्रम सुरु गरेका हौँ।”

null
नगरपालिकाले चालु आर्थिक वर्षमा ८५ जनालाई लघु उद्यमी बनाउने लक्ष्य राखेको छ। संयोजक शान्ति विश्वकर्माका अनुसार, पालिकाले मकैको पोक्सरबाट ब्याज बनाउने, धूप बनाउने, सरफ उत्पादन तालिम, सिलाई कटाई तालिम, र सरसफाइका सामग्री बनाउने जस्ता विभिन्न तालिमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

शान्ति विश्वकर्मा भन्छिन्, “हामीले तालिमपछि पनि छाड्दैनौं। तालिम लिएर तयार भएका उद्यमीलाई एडभान्स तालिम दिनेदेखि लिएर उनीहरूका लागि आवश्यक उपकरण र बजार व्यवस्थापनको समेत व्यवस्था गरिरहेका छौं। पछिल्लो वर्षको तालिमबाट धेरै सहभागीहरूले व्यवसाय थालेका छन् र केहीले त राम्रो आम्दानी पनि गरिरहेका छन्।”

null

यस्तै सफल उद्यमीहरूमध्ये एक हुन्—सोना श्रीस थापा। उनी तिलोत्तमा सरफ उद्योगकी सञ्चालक हुन्। उनी भन्छिन्, “हामी छ जना महिला मिलेर २५र२५ हजार रुपैयाँको दरले पैसा उठाएर यो उद्योग सुरु गरेका थियौं। वडा नं ६ बाट २ लाखको सहयोग पायौं र नगरपालिकाले मेसिन उपलब्ध गरायो। अहिले हामीले ६ लाख ऋण लिएर उद्योग विस्तार गरिरहेका छौं।”

उनको उद्योगबाट अहिले सरफ, लिक्विड क्लिनर, डिस्वास लिक्विड, पाउडर सरफ जस्ता दैनिक प्रयोगमा आउने सरसफाइका सामग्री उत्पादन हुँदै आएका छन्। उनले थपिन्, “हामी पालिकाले दिएको तालिमबाट नाफा मात्रै हैन, आत्मनिर्भरता पनि हासिल गरेका छौं। पालिकाले नहालेको भए सायद आज यो सम्भव हुने थिएन।”

त्यस्तै, वडा नं १४ की मिनु थापाले हस्तकला सम्बन्धी तालिम लिएर हाल डल, कुशन, चुरा, माला, लाछा, डोरी, झोला लगायत सामग्रीहरू उत्पादन गरिरहेकी छन्। उनी भन्छिन्, “शुरुमा त सिक्न गाह्रो लाग्यो। तर पालिकाको तालिमले मेरो आत्मविश्वास बढायो। अहिले मैले व्यवसाय त गरिरहेकी छु नै, अन्य महिलाहरूलाई पनि तालिम दिन थालेकी छु।”

उनको अनुभवमा पालिकाले थालनी गरेको सीप विकास कार्यक्रमले गाउँमा नै रोजगारीको बाटो खोलिदिएको छ। “पहिले त यस्तो काम महिलाले गर्न सक्दैन भन्ने सोच थियो। अहिले त्यो सोच पनि परिवर्तन भएको छ,” उनी भन्छिन्।

कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले कार्यक्रमबारे बताउँदै भने, “हामी एउटा शसक्त र आत्मनिर्भर समुदाय निर्माण गर्न चाहन्छौं। तालिम मात्रै दिएर होइन, त्यहाँबाट उद्यमी बनाउने लक्ष्य लिएका छौं। इच्छाशक्ति भएका व्यक्तिहरूलाई तालिमसहित हरेक सहयोग गर्न तयार छौं।”

उनले थपे, “युवाहरू विदेश जानु सामान्य भयो, तर हामी चाहन्छौं कि अब तिनीहरू विदेश होइन, स्वदेशमै केही गरुन्। त्यसका लागि हामी सबै तहमा आवश्यक आधार तयार पारिरहेका छौं।”

अहिले तिलोत्तमा नगरपालिका भित्र दर्जनौँ लघु उद्यमहरू सञ्चालनमा छन्, जुन पालिकाको तालिम, सहकार्य र प्रेरणाबाट स्थापित भएका हुन्। सरफ उद्योग जस्ता उत्पादन केन्द्रहरू नजिकका बजारसम्म पुगिसकेका छन् भने हस्तकला उत्पादनले सामाजिक सञ्जाल र मेलाहरूमा समेत राम्रो उपस्थिति जनाइरहेका छन्।

यस कार्यक्रमले स्थानीय स्रोत र सीपलाई सदुपयोग गरेर आत्मनिर्भर समुदायको निर्माणमा सघाउ पुर्‍याएको छ। स्वदेशमै सम्भावना देख्नेहरूका लागि तिलोत्तमा नगरपालिकाले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।