काठमाडौं । सरकारले स्टार्टअप कर्जा दिनका लागि ६ सय ६१ जना उद्यम छनौट गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक सूचना जारी गर्दै ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरिएको जनाएको छ ।
गत भदौमा प्रस्ताव आह्वान गरेपछि ५ हजार १ सय ५८ जनाको आवेदन परेको थियो । आवेदन परेकाहरुबाट १ हजार ३ सय १४ जना पहिलो चरणमा छानिएका थिए । पहिलो सूचीमा छानिएकाहरुबाट प्रस्तुतीकरणका आधारमा ६ सय ६१ उद्यम स्टार्टअपकर्जाका लागि छानिएका हुन् ।
कर्जाका लागि सिफारिस भएका उद्यमीहरूले आगामी ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । सो समयसम्म सम्पर्कमा नआए गरे परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ । कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आगामी बिहीबारसम्म प्रकाशन गरिने प्रतिष्ठानद्वारा जारी सूचनामा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा स्टार्टअप कर्जा कार्यक्रमका लागि सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । ३ प्रतिशत ब्याजदरमा बिनाधितो कर्जा पाइने यो योजना नेपालमा उद्यमशिलता बढाउनका लागि ल्याएइको हो ।
स्टार्टअप कर्जा न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म लिन पाइन्छ । कर्जाको अवधि अधिकतम ५ वर्षको हुन्छ । पहिलो किस्ता लिएको एक वर्षपछि सावाँ वा ब्याजको रकम फिर्ता गर्न थाल्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।
कस्ता उद्यमीले पाउँछन स्टार्टअप कर्जा ?
‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ मा स्टार्टअप उद्यमको योग्यता निर्धारण गरिएको छ । कार्यविधि बमोजिम कर्जा प्राप्त गर्न उद्यम व्यवसाय दर्ता भई दश वर्ष ननाघेको हुनुपर्नेछ । प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको हुनुपर्नेछ ।
यस्तै उद्यम व्यवसाय स्थापना भएपछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको, सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको, नवीन एवम् सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएका उद्यमले यस्तो कर्जा पाउनेछन ।
प्रचलित कानुनबमोजिम उद्योगका रूपमा दर्ता नभएको, वस्तु तथा सेवा विदेशबाट आयात गरी बिक्रीवितरण गर्ने गरेको, कालो सूचीमा परेको तथा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम होल्डिङ तथा लगानी कम्पनीका रूपमा दर्ता भएको उद्यमलाई स्टार्टअप कर्जाका लागि योग्य मानिने छैन ।
यी हुन स्टार्टअप उद्यमका १९ क्षेत्र
-कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम
- उत्पादनमूलक उद्यम
- वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्यमस
- पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम
- विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यम
- मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्यम
- शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित उद्यम,
- सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित उद्यमस
- पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित उद्यमस
- विद्युतीय सवारी साधन तथा अटोमोबाइलसँग सम्बन्धित उद्यम
- परम्परागत तथा ग्रामीण प्रविधिसँग सम्बन्धित उद्यम
- स्थानीय स्रोत तथा साधनमा आधारित उद्यम
- सार्वजनिक सेवा प्रवाह, उत्पादन तथा सेवा प्रक्रियामा सुधारसँग सम्बन्धित उद्यम
- खानी तथा खनिजको अनुसन्धान र विकाससँग सम्बन्धित उद्यम
- घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका कार्यसँग सम्बन्धित उद्यम
- वस्तु वा सेवाको वितरण प्रणालीसँग सम्बन्धित उद्यम
- परम्परागत पेसा तथा उद्यमको पुनर्जागरणसँग सम्बन्धित उद्यम
- खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित उद्यम
-फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यम