शीर्षकहरू

बैंकहरुमा अधिक तरलताको चाप, १ खर्ब ३४ अर्ब परिपक्क नहुँदै ३५ अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकहरुमा अधिक तरलताको चाप, १ खर्ब ३४ अर्ब परिपक्क नहुँदै ३५ अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा गत वैशाख ३ गते राखेको ३० अर्ब परिपक्क भएपछि केन्द्रीय बैंकले थप ३५ अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो । बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत यस अघि जम्मा गरेको १ खर्ब ३४ अर्ब २० करोड रकम परिपक्क हुन बाँकी छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति जेठ १४ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले गत आइतबार पनि ५० अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा १३ बैंक तथा वित्तीय संस्थाले २७ अर्ब ५० करोड जम्मा गरेका थिए । जसको औसत ब्याजदर ३ प्रतिशत कायम भएको थियो । त्यसअघि वैशाख १७ गते पनि २१ दिनका लागि ५० अर्बको  निक्षेप संकलन उपकरण जारी भएको थियो । वैशाख महिनामा मात्रै केन्द्रीय बैंकले ५ पटक यस्तो उपकरण जारी गरिसकेको छ । 

अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा अधिकतम ३ प्रतिशतसम्म ब्याजदर पाउँछन् । स्थायी निक्षेप सुविधाको ब्याजदर भने ३ प्रतिशत निश्चित गरिएको छ भने निक्षेप संकलनको ब्याजदर भने बोलकबोल मार्फत निर्धारण हुन्छ । अधिक तरलता भएको अवस्थामा निक्षेप संकलनको ब्याजदर कम हुन्छ भने कसिलो अवस्थामा ब्याजदर बढ्छ । 

लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ । अधिक तरलताको अवस्था झनै बढ्दै गएपछि राष्ट्र बैंकले नियमित रुपमा स्थायी निक्षेप सुविधा एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ । 

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६८ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५५ खर्ब १० अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२० प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ५७ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।
 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...