काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ । जलविद्युत् कम्पनीहरूको प्राथमिक शेयर निष्कासन (आईपीओ) का लागि धितोपत्र बोर्डले कमिसन मागेको खबरहरु सार्वजनिक भएसँगै आयोगले छानबिन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
अख्तियारले बुधबार धितोपत्र बोर्डमा छापा मारेर आईपीओ निष्कासनको प्रक्रियामा रहेका ८९ कम्पनीको फाइल नियन्त्रणमा लिएको हो । अख्तियारका अधिकारीले आईपीओ निष्कासनको प्रक्रियामा रहेका ८९ कम्पनीका सबै फाइल नियन्त्रणमा लिएको धितोपत्र बोर्डका अधिकारीहरुको भनाई छ । आईपीओ निष्कासनको प्रक्रियामा रहेका कम्पनीसँग धितोपत्र बोर्डले आर्थिक चलखेल गरेको आरोपबारे समाचार सार्वजनिक भएपछि अख्तियारले सबै फाइल नियन्त्रणमा लिएको हो ।
जलविद्युत् कम्पनीहरुले कमिसन मागिएको भन्दै आइतबार अख्तियारमा उजुरी गरेका थिए । मंगलबारमात्रै उनीहरुले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) सँग छलफल गरी बोर्डसँग औपचारिक जानकारी माग्ने बताएका थिए। अख्तियारले फाइल नियन्त्रणमा लिएसँगै अनुसन्धान अगाडि बढेको हो ।
धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने प्रवद्र्धकसँग ३ देखि ७ प्रतिशतको कमिसन माग भएपछि उक्त विषय सार्वजनिक भएको थियो । जलविद्युत् कम्पनीहरुसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलिया खटाएर प्रतिआयोजना ३ देखि ७ प्रतिशतसम्म कमिसन मागेको बताइएको थियो ।
आईपीओ जारी गर्नुपर्ने धितोपत्र बोर्डबाट कमिसन माग भएको विषयमा छानबिन गर्नुपर्ने विषय संसदमा पनि उठेको थियो । धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूसँग कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले लगाएको थियो भने अख्तियारमा यसबारेमा उजुरीसमेत परेपछि आयोग सक्रिय भएको हो ।
हाल धितोपत्र बोर्डमा ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको ४० करोड ४७ लाख ६ हजार ५४० कित्ता आईपीओ निष्काशनका लागि अनुमतिको पर्खाइमा छन् । जसमध्ये जलविद्युतको मात्रै ४३ कम्पनीको १९ अर्ब ४४ करोड ३४ लाख २४ हजार ३३६ रुपैयाँ बराबरको १९ करोड ३ लाख ६१ हजार ५९५ कित्ता शेयर अनुमतिको पर्खाइमा छ ।