काठमाडौं। भारतीय क्रिकेट टिमका स्टार खेलाडी रोहित शर्माले टेस्ट क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेका छन् । टी-२० खेलबाट सन्यास लिने घोषणा पहिला नै गरिसकेका उनले हिजो बुधबार राति टेस्टबाट पनि सन्यास लिने घोषणा गरेका हुन् ।
टेस्ट र टी २० खेलबाट सन्यास लिए पनि उनले एकदिवसीय खेललाई भने निरन्तरता दिने जनाएका छन् । उनले ११ वर्षको टेस्ट करिअरमा ६७ टेस्ट खेल खेलेका थिए । जसमा २४ वटा खेलमा आफै कप्तान थिए ।
टेस्ट खेलमा उनले १२ वटा शतक र १८ वटा अर्धशतक लगाएका छन् । उनको औसत रन ४०.५७ रहेको छ । ६७ खेलमा उनले ४ हजार ३०१ रन बनाएका छन् । टेस्ट करिअरमा उनले ८८ वटा छक्का र ४७३ वटा चौका प्रहार गरेको जनाइएको छ । रोहित शर्माको कप्तानीमा भारतले टेस्ट क्रिकेटमा १२ खेल जितेको छ भने ९ खेल हारेको छ ।
रोहितले आफ्नो पहिलो टेस्ट खेल साउथ अफ्रिकासँग सन् २०१० मा खेलना लागेका थिए । त्यस खेलको समयमा टस हुनुभन्दा केही अगि उनलाई चोट लागेको थियो र उनले ३ वर्षपछि मात्रै टेस्ट खेलमा डेब्यू गर्न पाए ।
उनले २०१३ मा वेस्टइन्डिजविरुद्ध कोलकाताको इडन गार्डन्स मैदानमा टेस्ट डेब्यू गरे । डेब्यू खेलमा नै उनले शतक प्रहार गरेका थिए । उनले आफ्नो अन्तिम टेस्ट खेल २०२४ डिसेम्बर २६ तारिखका दिन अस्ट्रेलिया विरुद्ध मेलबर्न रंगशालामा खेलेका थिए ।
उनले सामाजिक सञ्चालनमा पोस्ट गर्दै टेस्टबाट सन्यास लिने घोषणा गरेको जनाएका हुन् ।