शीर्षकहरू

कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको नाफामा उच्च गिरावट

कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको नाफामा उच्च गिरावट

काठमाडौं : कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको वित्तीय अवस्था खस्किएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार दुवै कम्पनीको नाफामा गिरावट आएको छ । यी दुवै कम्पनी शेयर बजारका महङ्गा कम्पनीहरु मध्येमा रहेका छन् । 

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बोटलर्स नेपाल (बालाजु) को नाफा ७३.३२ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको ९ महिनामा अर्थात चैत मसान्तसम्ममा १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यो कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । 

बोटलर्स नेपाल (तराई) को नाफा पनि ६९.१० प्रतिशतले घटेको छ । यो कम्पनीले चालु आवको ९ महिनामा ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यो कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

व्यापार खस्किएपछि दुवै कम्पनीको नाफामा उच्च गिरावट आएको हो । बोटलर्स नेपाल (बालाजु) को आम्दानी यसअवधिमा ७ अर्ब १८ करोड रुपैयाँबाट घटेर ७ अर्ब ७ करोड रुपैयाँमा झरेको छ । यसअवधिमा बोटलर्स नेपाल (तराई) को आम्दानी भने ५ अर्ब ८१ करोडबाट घटेर ४ अर्ब ९१ करोडमा झरेको छ । व्यापार ओरालो लागेपछि नाफा प्रभावित भएको हो । 

बैंक ब्याजदर घट्दा कम्पनीहरुको वित्तीय खर्चमा भने केही कमी आएको छ । बोटलर्स नेपाल (बालाजु) को २३ करोड ३३ लाख रहेको वित्तीय खर्च घटेर १६ करोड २४ लाखमा झरेको छ । तराईकोे वित्तीय खर्च पनि २० करोड १२ लाखबाट घटेर १३ करोड ९६ लाख रुपैयाँमा झरेको छ । 

बोटलर्स नेपाल (बालाजु) को चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ६ अर्ब ५ करोड ४५ लाख रुपैयाँ जम्मा छ । गत वर्ष जगेडा कोषमा ५ अर्ब ७० करोड रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ ३ हजार ४१२ रुपैयाँ रहेको छ ।

त्यस्तै बोटलर्स नेपाल (तराई) को चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । जसको जगेडा कोष (रिजर्भ) मा ४ अर्ब ११ करोड रुपैयाँ जम्मा छ । गत वर्ष रिजर्भमा ३ अर्ब ९८ करोड रुपैयाँ थियो । यसको प्रतिशेयर आम्दानी ८९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ३ हजार ४९७ रुपैयाँ छ । 

यी दुवै कम्पनी शेयर बजारका महङ्गा कम्पनीमा रहेका छन् । बोटलर्स नेपाल (बालाजु) को बुधबार प्रतिकित्ता शेयर मूल्य १८ हजार ४४० रुपैयाँ कायम भएको थियो । यो कम्पनीको चुक्तापुँजीको २५ प्रतिशत अर्थात ४ लाख ८७ हजार २२१ कित्ता सर्वसाधारण शेयर रहेको छ ।

त्यस्तै, बोटलर्स नेपाल (तराई) को बुधबार प्रतिकित्ता शेयर मूल्य १२ हजार ७५० रुपैयाँ कायम भएको थियो । यो कम्पनीको चुक्तापुँजीको २५ प्रतिशत अर्थात ३ लाख २ हजार ५०० कित्ता सर्वसाधारण शेयर रहेको छ ।