काठमाडौं । काठमाडौंदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरु पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न बिहीबार नेपाल पर्यटन बोर्डको प्रांगणबाट प्रस्थान गरेका हुन् ।
उनीहरुलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बिदाइ गरेका छन् । बिदाईका क्रममा बोर्डका वरिष्ठ निर्देशक ऐरले अध्ययन भ्रमणको शुभकामना व्यक्त गर्दै भने, “यो यात्रा सफलताको शुभकामना छ । काठमाडौंलाई रारासँग जोड्ने अभियान सुरु भएकोमा निकै खुसी लागेको छ ।
पर्यटकहरुलाई काठमाडौंबाट कर्णालीको रारासम्म सडक यातायातमार्फत पुग्न सकिन्छ भन्ने सन्देश दिन गरिएको यो प्रयास सफल हुनेछ भन्नेमा विश्वास लिएको छु । यस भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउनेछ । आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा पनि यसले योगदान दिनेछ । कर्णालीलाई सुगम गन्तव्यका रूपमा चिनाउने यो अभियान महत्वपूर्ण हुनेछ।“
टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भिष्म न्यौपानेले यात्राको सफल सुरुआत नेपाल पर्यटन बोर्डले देखाएको सद्भावको परिणाम भएको बताएका छन् । उनले भने, “सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको छ । हामी यस यात्रामा यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाहरुको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रुपमा अघि बढ्नेछौं ।“
टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको बताउँदै भने, “काठमाडौंदेखि रारा जाने यो नै सही सिजन हो । यही सिजनमा हामीले काठमाडौंबाट बस यात्रा गराएर रारा पुर्याउन सक्यौं र यसका लागि थप प्याकेजहरु बनाउन सक्यौं भने रारामा पर्यटकहरुको संख्यामा वृद्धि हुनेछ। काठमाडौंदेखि रारासम्म पहिलो पर्यटक बस यात्रा भएकोले यो ऐतिहासिक हुनेछ, जुन नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण कोशेढुंगा बन्नेछ।“
भ्रमण टोलीमा पर्यटन क्षेत्रका व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।