शीर्षकहरू

तीन दशकको प्रगति : ८० प्रतिशत परिवार आधारभूत सुविधाको पहुँचमा, आय र उपभोगको असमानतामा सुधार

तीन दशकको प्रगति : ८० प्रतिशत परिवार आधारभूत सुविधाको पहुँचमा, आय र उपभोगको असमानतामा सुधार

काठमाडौ। सरकारले तीन दशकमा भएको आर्थिक सामाजिक विकास सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०४७ सम्मको अवस्था र त्यसपछिको तीन दशकमा भएको सामाजिक विकास आफ्नो वेभसाइटमार्फत सार्वजनिक गरेको हो । १३ वटा शीर्षक राखेर सार्वजनिक गरिएको ’२०४७ पछिको आर्थिक सामाजिक विकासको अवस्थामा चरम गरिबीमा उल्लेख्य सुधार आएको उल्लेख गरिएको छ । 

सरकारले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आधारभूत सुविधामा पहुँच पुगेका परिवारको अनुपात बढ्दै गएको छ । २०५२ साल सम्ममा २५ प्रतिशत नागरिकले आधा घण्टाको दुरीमा पक्की सडकको सुविधा पाउने गरेकोमा २०८० सालमा ८० प्रतिशत नागरिकले त्यो सुविधा पाएका छन् । 

२०५२ साल सम्ममा ४५ प्रतिशत नागरिकले आधा घण्टाको दुरीमा स्वास्थ्य केन्द्रको सेवा पाउँथे भने २०८० सालमा ७१ प्रतिशत नागरिकले त्यो सुविधा पाएका छन् । २०५२ साल सम्ममा २४ प्रतिशत नागरिकले आधा घण्टाको दुरीमा बजार केन्द्र पाउँथे भने २०८० सालमा ७३ प्रतिशत नागरिकले त्यो सुविधा पाएका छन्। 

तीन दशकको अवधिमा आधारभूत सुविधामा पहुँचको प्रतिशतमा उल्लेख्य वृद्धि भएको छ ।  पक्की सडक, स्वास्थ्य केन्द्र, बजार केन्द्र र सहकारी संस्थाको सेवामा नागरिकको पहुँच निकै बढेको छ । यी सुविधाहरूले समग्र सामाजिक र आर्थिक विकासमा सुधार ल्याएको प्रतिवेदनमा उल्लेख छ । २०५२ साल सम्ममा २६ प्रतिशत नागरिकले आधा घण्टाको दुरीमा सहकारी संस्थाको सेवा पाउँथे भने २०८० सालमा ८३ प्रतिशत नागरिकले त्यो सुविधा पाएका छन् । यस्तै अन्य सुविधाहरु पनि विस्तार हुँदैछन् ।

मानव विकास सूचकांकमा लगातार वृद्धि भएको छ । यो सूचकांकक ०.४३७ बाट ०.६०२ सम्म पुगेको छ । आधारभूत सुविधाहरू जस्तै स्वास्थ्य सेवा, पक्की सडक, बैंक सेवाहरू र सिमेन्टका घरको पहुँच उल्लेख्य रूपमा बढेको छ ।

प्रतिव्यक्ति आयमा पनि उल्लेख्य वृद्धि भएको छ। प्रतिव्यक्ति आय ७ हजार ६९० रुपैयाँबाट १ लाख ३६ हजार ७०७ रुपैयाँसम्म पुगेको छ । विद्युत र टेलिफोनमा पहुँच र सामाजिक सेवाहरू जस्तै सहकारी संस्था र स्वास्थ्य सेवाहरूको पहुँचमा सुधार भएको छ । 

गरिबी घटेको दर २०४८ देखि २०८० सम्म गरिबीमा उल्लेख्य सुधार भएको छ । २०५२ मा ४२% देखि २०८० मा २०% मा झरेको छ । यस्तै उपभोगको आधारमा २०८० को गरिबी दर गणनामा ७२ वटा उपभोग्य वस्तुहरूलाई आधार बनाएर गरिबी २०% मापन गरिएको छ । साविक बमोजिमको ४० वस्तुहरूको आधारमा गरिबी गणना गरिएको भए २०८० मा गरिबीको दर ३.६% मात्र हुने देखिने प्रतिवेदनमा उल्लेख छ ।

तीन दशकमा ग्रामीण र शहरी क्षेत्रको गरिबीको दरको भिन्नता घटेको छ । २०५२ मा ग्रामीण र शहरी क्षेत्रको बीचको फरक २१% थियो, जुन २०८० मा घटेर ७% मा पुगेको छ ।

आयको असमानता पछिल्ला वर्षमा घट्दै गएको छ । २०५२ सालमा सबैभन्दा गरिब १० प्रतिशत परिवारको आय भन्दा धनी १० प्रतिशतको आय २१ गुणा बढी रहेकोमा २०६१ सालमा १८ गुणा र सन् २०८० सालमा आइपुग्दा धनी १० प्रतिशत परिवारको आय गरिब १० प्रतिशतको आय भन्दा ६ गुणा मात्र बढी रहेको देखिन्छ । उपभोगको दृष्टिकोणले पनि धनी र गरिब बीचको दूरी घट्दै गएको छ । 

जीवनस्तर मापन सर्वेक्षण प्रतिवेदनअनुसार २०५२ सालमा समाजको सबैभन्दा तल्लो १० प्रतिशत (गरिब) वर्गको तुलनामा सबैभन्दा माथिल्लो १० प्रतिशत (धनी) वर्गको उपभोग ९ गुणा धेरै थियो। यो अनुपात २०६१ र २०६८ मा क्रमशः १५ र ९ गुणा भयो । २०८० सालमा भने समाजको सबैभन्दा तल्लो १० प्रतिशत गरिब वर्गको भन्दा सबैभन्दा माथिल्लो १० प्रतिशत परिवारको उपभोग साढे ६ गुणा मात्र बढी रहेको छ । यसरी तीन दशक यताका जीवनस्तर मापन सर्वेक्षणले आय र उपभोगको दृष्टिकोणले धनी र गरिब बीचको दूरी घट्दै गएको देखाएका छन् ।


 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...