शीर्षकहरू

रिलायन्सको स्पनिङ मिल्सको आईपीओ रोक्न दिइएको पत्र कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

रिलायन्सको स्पनिङ मिल्सको आईपीओ रोक्न दिइएको पत्र कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न धितोपत्र बोर्डले बिक्री प्रबन्धक कम्पनीलाई लेखेको पत्र विरूद्ध पाटन उच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश भएको छ ।

रिलायन्स स्पिनिङ मिल्सले धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर हालेको यस्तो रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र टिकाराम आचार्यको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो। 

गत वर्ष असार २६ गते अर्थमन्त्रालयबाट नेपाल धितोपत्र बोर्डमा अध्यक्षता गरिरहेका नरेन्द्रकुमार रानाले कम्पनीको आईपीओ तत्कालका लागि रोक्न निर्देशन दिएका थिए। धितोपत्र बोर्डले सो समय बिक्री प्रबन्धकलाई अर्को निर्णय नभएसम्मको लागि धितोपत्र निष्कासन प्रक्रिया रोक्का राख्न गरेको पत्राचार विरूद्ध कम्पनीले उच्च अदालतमा रिट दायर गरेको थियो। कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। 

कम्पनीले कम्पनी बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसामा शेयर बिक्री गर्न लागेको थियो । तर, संघीय संसदको लेखा समितिमा मूल्य लगायतका विषयमा उजुरी परेसँगै कम्पनीको आईपीओ निष्कासन प्रक्रिया समेत अवरोध भएको थियो।

लामो समय देखि रोक्का रहेको कम्पनीको सार्वजनिक निष्काशन प्रक्रिया अगाडि बढाउन माग गर्दै रिलायन्स स्पिनिङ्ग मिल्सले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनमा २०८२ वैशाख २४ मा दुई पक्षिय सुनुवाही भएको थियो । त्यसपश्चात धितोपत्र बोर्डको मिति २०८१ असार २६ को पत्र प्रारम्भिक रुपमा नै कानुन सम्मत नदेखिएकोले सो रिट निवेदनको टुंगो नलागे सम्म उक्त रोक्का पत्र कार्यन्वयन नगर्नु नगराउनु र उक्त पत्रसंग सम्बन्धित सबै कार्यहरु रोक्का राख्नु भनि अन्तरिम आदेश जारी भएको हो । 

रिलायन्स स्पिनिङ मिल्सले आव २०८१/८२ को तेस्रो त्रैमाससम्म अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको चैतसम्ममा १ अर्ब २ करोड ८५ लाख ७ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको असारसम्ममा कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार रुपैयाँ थियो । गत आवको असारको तुलनामा चालु आवको चैतसम्ममा कम्पनीको कुल नाफा १६ करोड ३४ लाख ४७ हजार रुपैयाँले बढी हो । 

चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ । यसअघि चालु आवको दोस्रो त्रैमासमा कम्पनीको इपीएस २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा रहेको थियो । गत आवको असारमा कम्पनीको इपीएस २ रुपैयाँ ९५ पैसा थियो । त्यसपछि चालु आवमा क्रमशः बढेर तेस्रो त्रैमाससम्ममा २५ रुपैयाँ ४९ पैसा कायम भएको हो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा रिलायन्सले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ । गत आवको असारसम्मा कम्पनीको व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ४ करोड २७ हजार रुपैयाँ छ । चालु आवको चैतसम्ममा कम्पनीको करतिरेपछिको नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

विसं. २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ्स मिल्स लिमिटेडले   स्थापनाको २७ वर्षसम्ममा ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । साथै लगानी पनि बढेर १५ अर्बभन्दा बढी पुगिसकेको छ । यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ ।

सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ ।