शीर्षकहरू

पूँजीकाे सूरक्षा नै पहिलाे प्राथमिकता : सीईओ पराजुली

पूँजीकाे सूरक्षा नै पहिलाे प्राथमिकता : सीईओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेको छ । इन्स्योरेन्सले आफ्नो पूर्ण स्वामित्वमा सहायक कम्पनी स्थापना गरेको हो । उक्त नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीको आज बिहीबार औपचारिक रुपमा उद्घाटन भएको हो ।

कम्पनीका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुसिलदेव सुवेदीले संयुक्त रुपमा उक्त कम्पनीको उद्घाटन गरेका हुन् । कम्पनीको कार्यालय सिटी सेन्टर, कमालादीमा रहेको छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ भने चुक्ता पूँजी १ अर्ब ८० करोड रुपैयाँ रहेको छ । 

इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी (सीईओ) प्रवीण रमण पराजुलीले इन्स्योरेन्स कम्पनीले लिएको लगानी विविधीकरण नीति अनुरूप यो कम्पनी स्थापना गरिएको जानकारी दिए । उनका अनुसार लगानी मात्रै गरेर फल प्राप्त हुँदैन । लगानी गरेपछि त्यसको नियमित अनुगमन, फलाेअफ गर्नु त्यतिकै जरुरी हुन्छ । जसका लागि एउटा सिंगो टीम चाहिन्छ । त्यसैका लागि एउटा स्वतन्त्र संस्थाको आवश्यकता परेको उनको भनाई छ । 

लगानी विविधीकरणको नीति अनुरूप नयाँ इन्भेस्टमेन्ट कम्पनी स्थापना गएतापनि मूल ध्यान त्यसको मुख्य पूँजीको सुरक्षा गर्नु नै रहेको उनले बताए । त्यसपछि त्यसबाट हुने प्रतिफल र सहि समयमा कहाँ लगानी गर्ने भन्ने विषयमा ध्यान दिने उनको भनाई छ । 

यस्तै, इन्स्योरेन्सको सञ्चालक समितिका सदस्य कमलेस अग्रवालले इन्भेस्टमेन्ट कम्पनी एउटा रिसर्च सेन्टरको रुपमा पनि स्थापना गरिएको बताए । उनले भने, 'रिस्क र गैनको सन्तुलन कायम गर्नका लागि पुरा प्रफेशनल सेटप चाहिन्छ । त्यसैका लागि पनि यो कम्पनी स्थापना गरिएको हो ।’

त्यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले प्राधिकरण जहिले पनि लगानी विविधीकरणको पक्षमा रहेको बताए । एउटै बिस्केटमा पैसा राख्यो भने जोखिम बढ्ने भन्दै यस प्रकारका कम्पनीहरूको स्थापना गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणले प्रोत्साहन गर्ने जानकारी दिए । 

उक्त कम्पनी स्थापना गरेसँगै दायित्व र जिम्मेवारी पनि थपिएको बताउँदै उनले कम्पनीमा लगानी भएको ५ अर्ब रूपैयाँलाई गुणात्मक रुपमा वृद्धि गर्दै लैजानु पर्ने धारणा व्यक्त गरे । त्यसका लागि बेस्ट ब्रेन, बेस्ट टेक्नोलोजी र व्यवस्थापनका उच्च टेक्नीकहरुलाई प्रयोग गर्न उनले सुझाव दिए । 

यसैगरी, उक्त इन्भेस्टमेन्ट कम्पनीका सीईओ सुवास थापाले यस कम्पनीको मुख्य उद्देश्य भनेको माउ कम्पनीको फन्ड मोबिलाइज गर्ने रहेको बताए । यसका साथै लगानीबाट गुणात्मक प्रतिफल दिने पनि उनले प्रतिवद्धता जाहेर गरे ।