काठमाडौं । भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भारी गोलीबारी जारी रहँदा सीमावर्ती भारतीय क्षेत्रका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् ।
पछिल्ला दिनमा पुनः सुरु भएको शत्रुताले एलओसी आसपासका बासिन्दाहरूलाई पुनः संघर्षकालीन कठिनाइको सामना गराएको छ । गोलीबारीका कारण स्थानीय बासिन्दाहरूको ज्यान, सम्पत्ति, मवेशीमा क्षति पुगेको छ भने, विद्यालय, अस्पताल र बजारहरू बन्द गरिएका छन् ।
भारतले कश्मीरको पहलगाममा पर्यटकमाथिको प्राणघातक आक्रमणपछि पाकिस्तानले लगातार युद्धविरामको उल्लंघन गर्दै आएको आरोप लगाएको छ । पाकिस्तानले ७४० किलोमिटर लामो एलओसीको विभिन्न स्थानमा आक्रमण गरिरहेको बताइएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार, मे ७ तारिख बुधबार बिहान गरिएको हवाई आक्रमणपछि एलओसी क्षेत्रमा भइ रहेको गोलीबारीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने ५९ जना घाइते भएका छन् ।
मृतकमध्ये महिलाहरू, बालबालिका र भारतीय सेनाका लान्स नायक दिनेश कुमार पनि छन् । मिसाइल र ड्रोनका टुक्रा भारतीय राज्य पञ्जाबका विभिन्न जिल्लामा भेटिएपछि त्यहाँ त्रासको वातावरण सिर्जना भएको छ ।
भारतले मे ७ र ८ तारिख राति पाकिस्तानबाट प्रक्षेपण गरिएका धेरै ड्रोन र मिसाइल आक्रमणहरू नष्ट गरिएको दाबी गरेको छ । त्यसपछि, मे ८ तारिख अर्थात् बिहीबार भारतले लाहौरस्थित एक हवाई सुरक्षा प्रणाली नष्ट गरिएको घोषणा गरेको छ, यद्यपि पाकिस्तानले यसको पुष्टि गरेको छैन ।
भारत-पाकिस्तान तनावप्रति नेपाल सरकारको चिन्ता व्यक्त
नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ ।भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो ।
नेपालले सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतंकवादी हमलाको तत्काल र निःसन्देह रूपमा भत्र्सना गरेको थियो ।
‘आतंकवाद विरुद्धको लडाइमा नेपाल सबै पक्षसँगै उभिएको छ । आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन,’ मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ ।