काठमाडौं । बज्र इनर्जी भेन्चर्स प्रालिले प्रवर्धन गरेको २४.८ मेगावाटको बज्र मादी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । शुक्रबार एनएमबी बैंकको नेतृत्वमा कृषि विकास बैंकसहित ३ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको ऋण लगानी सुनिश्चित गरिएको छ।
कास्कीको मादी गाउँपालिका भएर बग्ने मादी नदीमा निर्माणाधीन यो जलप्रवाही आयोजनाले २४.८ मेगावाट क्षमताको इजाजत प्राप्त गरेको आयोजना स्तरोन्नति गरी ३१ मेगावाट बनाउन खोजिएको छ । यसका लागि विद्युत् विकास विभागमा अनुमतिका लागि आवेदन दिइसकिएको कम्पनीले जनाएको छ ।
परियोजनाको डिजाइन अनुसार ४३ मिटर लामो ड्याम, एक सय मिटर लामो डिसेन्डर, झन्डै ८ किलोमिटर लामो सुरुङमार्ग र १२५.५ मिटरको ग्रस हेड हुने छ । उत्पादित विद्युत् १३२ केभीको ७.२ किलोमिटर लामो सिंगल सर्किट प्रसारण लाइनमार्फत लेखनाथ सबस्टेसनमा जोडिने छ ।
२०७८ माघमा विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको सो परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन तथा उत्पादन इजाजतसमेत प्राप्त भइसकेको छ । कुल लागत ५ अर्ब ३५ करोड रुपैयाँ अनुमान गरिएको सो आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सोही कार्यक्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा बनेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिएको छ ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवर्धन गरेको सो आयोजना निर्माण सम्पन्न भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको कम्पनीका अध्यक्ष सुदीपसिंह अधिकारीले जानकारी दिए । २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माण सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको छ ।
सेती नदी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सबस्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
आयोजनामा एनएमबी बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकको ऋण लगानी रहेको छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।