शीर्षकहरू

बैंंकिङ प्रणालीमा अधिक तरलताको चाप कायमै, आज पनि ३० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंंकिङ प्रणालीमा अधिक तरलताको चाप कायमै, आज पनि ३० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा गत वैशाख ७ गते राखेको ३० अर्ब परिपक्क भएपछि केन्द्रीय बैंकले थप ३० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो । 

बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत यस अघि जम्मा गरेको १ खर्ब ३५ अर्ब ८५ करोड रकम परिपक्क हुन बाँकी छ ।  इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति जेठ १८ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले गत बुधबार पनि ३५ अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा १५ बैंक तथा वित्तीय संस्थाले ३१ अर्ब ६५ करोड जम्मा गरेका थिए । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो । वैशाख महिनामा मात्रै केन्द्रीय बैंकले ६ पटक यस्तो उपकरण जारी गरिसकेको छ । 

लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ । 

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५५ खर्ब १७ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२५ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ५५ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।
 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...