काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा गत आवको सोही अवधिको तुलनामा उल्लेख्य रुपमा वृद्धि भएको छ । तुलनात्मक रुपमा कम्पनीको खुद नाफा ६३८.६३ प्रतिशतले वृद्धि भएको हो ।
चालु आको चैतसम्म कम्पनीले १ करोड ५ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १४ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिसम्ममा कम्पनीले चुक्ता पूँजी ७५ करोड रुपैयाँ पुर्याएको छ । केही महिना अघि २२ करोड ५० लाख रुपैयाँको आईपीओ निष्काशन गरेर कम्पनीले पूँजी वृद्धि गरेको हो । आईपीओ निष्काशन पूर्व कम्पनीको पूँजी ५२ करोड ५० लाख रुपैयाँ थियो ।
कम्पनीमा हाल १ लाख ५४ हजार जना सक्रिय बीमित रहेका छन् । गत आवको सोही अवधिमा १९ हजार ९१० जना सक्रिय बीमित रहेका थिए । पछिल्लो ९ महिनामा मात्रै कम्पनीले १ लाख ११ हजार ९३४ जनाको बीमा गराएको छ ।
कम्पनीले दीर्घकालिन रुपमा ११ करोड ४८ लाख र अल्पकालीन रुपमा ६३ करोड १८ लाख रुपैयाँ गरी कुल ७५ करोड ९ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । गत आवको ९ महिनासम्म कम्पनीको लगानी ५१ करोड ८० लाख रुपैयाँ थियो ।
कम्पनीको जीवन बीमा कोषको आकार पनि ह्वात्तै बढेको छ । गत आवको चैत मसान्तसम्म जीवन बीमा कोषमा ९२ लाख ४१ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिसम्म आइपुग्दा उक्त कोषमा ५ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको ईपीएस १.८७ रुपैयाँ, प्रति शेयर नेटवर्थ १०२.८८ रुपैयाँ र पीई रेसियो १९५.४० गुणा रहेको छ ।