शीर्षकहरू

लिबर्टी माइक्रोको नाफा सामान्य वृद्धि, जीवन बीमा कोषको आकार सवा ७ करोड

लिबर्टी माइक्रोको नाफा सामान्य वृद्धि, जीवन बीमा कोषको आकार सवा ७ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा गत आवको सोही अवधिको तुलनामा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक विवरण अनुसार नाफा सामान्य वृद्धि भएको हो । 

चालु आको चैतसम्म कम्पनीले ८९ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ८७ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीमा हाल १ लाख ९ हजार जना सक्रिय बीमित रहेका छन् । गत आवको सोही अवधिमा २६ हजार जना सक्रिय बीमित रहेका थिए । पछिल्लो ९ महिनामा मात्रै कम्पनीले ९३ हजार ३९९ जनाको बीमा गराएको छ । 
कम्पनीले दीर्घकालिन रुपमा ५० करोड ९९ लाख र अल्पकालीन रुपमा १ करोड ८८ लाख रुपैयाँ गरी कुल ५२ करोड ८९ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । गत आवको चैत महिनासम्म कम्पनीको लगानी ५० करोड ७१ लाख रुपैयाँ थियो । 

कम्पनीको जीवन बीमा कोषको आकार ह्वात्तै बढेको छ । गत आवको चैत मसान्तसम्म जीवन बीमा कोषमा ५१ लाख ३२ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिसम्म आइपुग्दा उक्त कोषमा ७ करोड २० लाख ५३ हजार रुपैयाँ रहेको छ । 

ईपीएस २.२६ रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी भने ५२ करोड ५० लाख रुपैयाँ छ । कम्पनीले चाँडै नै चुक्ता पूँजी ७५ करोड पुर्याउँदै छ । जसका लागि आईपीओ निष्काशन गर्न भन्दै नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि फाइल पेश गरेको छ । बोर्डले अनुमति दिए सँगै कम्पनीले २२ करोड ५० लाख रुपैयाँको आईपीओ निष्काशन गरेर चुक्ता पूँजी ७५ करोड पुर्याउने छ ।