शीर्षकहरू

'नेपालमा कृषि बीमा' नामक पुस्तक बजारमा

'नेपालमा कृषि बीमा' नामक पुस्तक बजारमा

काठमाडौं । कृषि बीमाको बारेमा जानकारी राख्न चाहनेहरूका लागि निकै उपयोगी सामाग्री “नेपालमा कृषि बीमा” पुस्तक बजारमा आएको छ । यो पुस्तक अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, बीमा व्यवसायी तथा नेपालमा कृषि बीमा विकास र अभ्यासमा रुचि राख्ने सबैका लागि सन्दर्भ सामग्रीको रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ। 

पुस्तकमा कृषि बीमाको सैद्धान्तिक आधार, विश्व र नेपालमा अभ्यासमा रहेका बीमा पोलिसीको बारेमा उल्लेख गरिनुको साथै तथ्यांक सहित नेपालको कृषि बीमाको बिकासक्रम, बिगत र वर्तमानमा भएका नीति, कार्यक्रम, र संस्थागत संरचनाहरूको विश्लेषण गरिएको छ । पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको छ ।

nullपुस्तकलाई १४ अध्यायमा विभाजन गरिएको छ । कृषि क्षेत्रमा विद्यमान जोखिम र अन्तर्राष्ट्रिय तथा नेपालमा परम्परागतमा भइरहेको जोखिम व्यवस्थापनको अभ्यासको बारेमा चर्चा गर्दै विश्वमा अभ्यासमा रहेका विभिन्न बीमा पोलिसीहरु तथा असल अभ्यासहरूको बारेमा पनि चर्चा गरिएको छ । कृषि बीमाका कानूनी आधार र अनुदानका बिषय, प्रविधिको प्रयोगजस्ता महत्वपूर्ण विषयहरूमा बहस प्रस्तुत गरिएको छ। नेपालका निर्जीवन बीमा कम्पनीहरूले यस क्षेत्रमा खेलेको भूमिकालाई निकै विश्लेषणात्मक ढंगबाट चर्चा गरिएको छ । कृषि बीमाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका संघ संस्था र तीनका क्रियाकलापहरूको पनि चर्चा गरिएको छ भने कृषि बीमामा व्याप्त समस्या, चुनौती र संभावनाको बारेमा उल्लेख गर्दै अन्तिम अध्यायमा सम्बन्धित निकायहरुलाई सुझाव दिइएको छ ।

नेपाल सरकारका कृषि सचिव डा. गोविन्द प्रसाद शर्माले यस पुस्तकले नेपालको कृषि बीमा बजार विकास गर्न चाहने नीतिनिर्माता, अनुसन्धानकर्ता र व्यवहारविद्हरूका लागि महत्वपूर्ण मार्गनिर्देशन प्रदान गर्ने बताएका छन् । उनले बीमा तथा कृषि क्षेत्रका सबै सरोकारवालालाई यो पुस्तक अध्ययन गरी नेपालमा अधिक समावेशी र प्रभावकारी कृषि बीमा प्रणाली निर्माण गर्न आग्रह गरेका छन् ।

nullपोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसी र नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका  सचिव डा. गोविन्द्र प्रसाद शर्माबाट फरक फरक स्थानबार्ट नेपालमा कृषि बीमा पुस्तक सार्वजनिक गरिएको हो । 

बीमा विज्ञ डा. रविन्द्र घिमिरे, कृषि बीमा कार्यन्वयनको शुरुवात देखिनै पोलिसी निर्माणमा जोडिएका नेपाल सरकारका पूर्व उपसचिव शिव सुन्दर घिमिरे, कृषिमा क्षेत्रमा बिद्याबारिधी गरेका गिरी प्रसाद कंडेल र कृषिमा स्नातकोत्तर गरी बीमा कम्पनीमा कृषि विभागको नेतृत्व गरिरहेका सुदिप पौडेलले उक्त पुस्तक संयुक्त रूपमा लेखेका हुन् ।

null२४० पृष्ठको उक्त पुस्तकको अन्त्यमा शब्दावली सूची र हरेक जिल्लामा उत्पादन हुने मुख्य बालीको परिणाम र अनुमानित प्रिमियम र बीमांक समेत राखि नेपालको नक्सा समेत प्रस्तुत गरिएको हुँदा पुस्तक निकै उपयोगी हुने देखिन्छ । उक्त पुस्तककाे मूल्य ५२५ रूपैयाँ राखिएको छ ।