काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुत्तिमा नयाँ नयाँ टुविस्ट आइरहदा शेयर बजारमा लगानीकर्ता झनै अन्योलमा परेका छन् । गभर्नर नियुक्ति भएपश्चात बजारले एउटा लय समात्ने अपेक्षा रहेका लगानीकर्ताहरु पछिल्लो समयमा लगानी विविधिकरणतर्फ लागेका छन्। जसले गर्दा दैनिक कारोबारमा नयाँ नयाँ सेक्टरमा आकर्षण दखिएको छ । गत साता जलविद्युत र फाइनान्समा मोडिएका लगानीकर्ता यो साताको पहिलो दिन होटल तथा पर्यटन समूहतर्फ आकर्षीत भएका छन ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक ११.५३ अंक घटेर २६५०.११ विन्दुमा झरेको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।
यसदिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.५० प्रतिशत बढेको छ । यस उपसमूहअन्तर्गत सूचीकृत ६ वटै होटलहरुको शेयरमूल्य बढेसँगै परिसूचक पनि उच्च दरमा बढेको हो। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक ३.७२ प्रतिशत घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत साताको बुधबार साढे ११ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आइातबार १० अर्ब २० करोड २७ लाख १ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.४२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६६ करोड ५ लाख ८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ६० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम साढे ५४ करोड नाघेको छ।