काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा भित्रिने रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा विभिन्न मुलुकबाट नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार गत आवको सोही अवधिमा १० खर्ब ८२ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो अवधिमा अमेरिकी डलरमा भित्रने रेमिट्यान्स ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । गत आवको सोही अवधिमा अमेरिकी डलरमा भित्रने रेमिट्यान्स १५.२ प्रतिशतले बढेको थियो ।
चैत मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ११ खबै ७४ अर्ब ५४ करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो ।