काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको चैत र गएको फागुन महिनाको तुलनामा मुद्रास्फीति घटेको हो ।
गत आवको चैत महिनामा ४.६१ प्रतिशत रहेको मुद्रास्फीति गएको फागुन महिनामा ३.७५ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थको मुद्रास्फीति झनै कम भएको छ । यस क्षेत्रको मुद्रास्फीति गत चैत महिनामा २.४५ प्रतिशतमा झरेको छ । गत आवको चैतमा ५.२२ र गएको फागुनमा ३.३४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
यसैगरी, गैर खाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति भने ३.९० प्रतिशत छ । गत आवको चैत र गएको फागुनमा यस क्षेत्रको मुद्रास्फीति क्रमशः ४.२० र ३.९७ प्रतिशत थियो ।
प्रदेशगत रुपमा गत चैत महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत, मधेश प्रदेशको ३.५९ प्रतिशत, बागमती प्रदेशको २.८० प्रतिशत, गण्डकी प्रदेशको २.८३ प्रतिशत, लुम्बिनी प्रदेशको ३.११ प्रतिशत, कर्णाली प्रदेशको ३.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.५१ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको छ ।