काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्म शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा २ अर्ब ७५ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ५५ करोड डलरले बचतमा रहेको हो । मुलुक बाहिरिने भन्दा भित्रिने रकम बढी हुनु नै शोधनान्तर बचत हो ।
यस अवधिमा चालु खाता पनि २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोड डलरले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब ७८ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटिमात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ६ अर्ब ४९ करोड रहेको थियो ।