काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार २०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भएको हो ।
२०८१ असार मसान्तसम्म भने यस्तो विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो । तथ्यांअनुसार असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा चैत मसान्तमा आईपुग्दा १५।६ प्रतिशतले वृद्धि भई २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग चैत मसान्तमा २ खर्ब ९० अर्ब ३८ करोड रहेको छ । असार मसान्तमा भने यस्तो रकम १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो जुन चैतको तुलनामा ५०.८ प्रतिशत कम हो ।
यस्तै, चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष ०८१/८२ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।