शीर्षकहरू

शेयर धितो कर्जा सवा १ खर्ब नजिक, ठूलो कर्जा लिनेहरु ५१ प्रतिशतले बढे, कति छ ब्याजदर ?

शेयर धितो कर्जा सवा १ खर्ब नजिक, ठूलो कर्जा लिनेहरु ५१ प्रतिशतले बढे, कति छ ब्याजदर ?

काठमाडौं । शेयर बजारमा चमत्कारिक सुधार नदेखिएको भएपनि चालु आर्थिक वर्षमा व्यक्तिका साथै संस्थागत लगानीकर्ताहरुले शेयर बजारमा ठूलो मात्रामा लगानी बढाएको तथ्यांकहरुले देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट पछिल्लो समयमा प्रवाह भएको शेयर धितो कर्जाले नै यसलाई पुष्टि गर्छ । 

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही लचिलो नीति लिएको थियो। जसका कारण शेयर कर्जा बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकले चालु मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको शेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको थियो । साथै राष्ट्र बैंकले शेयर धितोको जोखिम भार घटाएपछि यस्तो प्रकृतिको कर्जा लिन लगानीकर्तालाई प्रोत्साहन मिलेको हो । शेयर धितो कर्जामा बढोत्तरी आएपनि त्यसको प्रभाव भने शेयर बजारमा खासै देखिएको छैन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा १ खर्ब २४ अर्ब बढी कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जा करिब ३८ प्रतिशतले बढेको छ । यसै अवधिमा ठूला शेयर धितो कर्जा लिनेहरु अर्थात एक करोड भन्दा माथिको कर्जा लिनेहरु साढे ५१ प्रतिशतले बढेका छन् ।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चैतसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल १ खर्ब २४ अर्ब १२ करोड १५ लाख रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेका हुन् । जुन गत असारको तुलनामा ३७.८ प्रतिशतले धेरै हो । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले यो शिर्षकमा ९० अर्ब ९ करोड ३२ लाख कर्जा प्रवाह गरेका थिए । केन्द्रीय बैंकका अनुसार पछिल्लो ९ महिनाको अवधिमा मात्रै बैंक-वित्तीय संस्थाहरुले ३४ अर्ब रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह गरेका छन् । 

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुले १ खर्ब १ अर्ब ६० करोड कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरुले १८ अर्ब २८ करोड तथा फाइनान्स कम्पनीहरुले ४ अर्ब २३ करोड शेयर धितोमा कर्जा प्रवाह गरेका छन् । 

मार्जिन प्रकृतिको कर्जामा ठूलो ऋण लिने सबैभन्दा बढी बढेका छन् । केन्द्रीय बैंकको विवरण अनुसार चालु आवको ९ महिनामा १ करोड भन्दा बढी ऋण लिने ५१.०४ प्रतिशतले बढेका छन् । चालु आवको चैतसम्ममा १ करोड रुपैयाँभन्दा माथिको ऋण ८४ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ । त्यसपछि सबैभन्दा बढी ऋण लिनेमा २५ लाखदेखि ५० लाखसम्म ऋण लिनेहरु छन्। यो आकारको शेयर धितो कर्जा पनि १५.४ प्रतिशतले बढेको छ । चैतसम्म यो रेन्जमा १६ अर्ब ६४ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यस्तै ५० लाख देखि १ करोडसम्मको ऋण लिनेहरुले १९.९४ प्रतिशतले बढेका छन्। यो शिर्षकमा १४ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । २५ लाख भन्दा कम २५ लाख भन्दा कम कर्जा लिनेहरु ८.६ प्रतिशतले मात्र बढेका छन् । यो शिर्षकमा ७ अर्ब ९४ करोड १९ लाख मात्र कर्जा प्रवाह भएको छ। 

साना कर्जा लिनेहरु घट्ने तथा ठूला कर्जा लिनेहरु बढेकाले शेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लगानी बढाएको अनुमान गर्न सकिन्छ । अहिले बैंकहरुको ठूलो रकम शेयर बजार आउने क्रम जारी रहेकाले बजारमा सुधार आउने अनुमान भइरहेको छ । तर, राजैनैतिक खिचातानी र गभर्नर नियुक्तिमा भएको ढिलाईले शेयर लगानीकर्ताको मनोबल बढ्न सकेको देखिदैन् । 

अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । बैंक ब्याजदर निरन्तर घट्दै आइरहेको छ । अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । यसैगरी, बैंकहरुले निक्षेपको ब्याजदर पनि भारीमात्रामा घटाएकाले पनि लागत कम हुँदै गएको छ । यसले पनि कर्जाको ब्याजदर थप तल झार्न सहयोग गरेको देखिन्छ ।

तथापि, अर्थतन्त्रमा आएको शिथिलताको कारण बैंक–वित्तीय संस्थाबाट कर्जा प्रवाह भने सुस्त रहेको छ । अहिले शेयर धितो कर्जाको औसत ब्याजदर नै ८.१२ प्रतिशतमा झरेको छ । यसले लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न थप उत्साहित गरिरहेको छ । यसले पनि मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको हो । 

null