काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुल बहिष्कार गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायको ठूलो हिस्सा ओगटेको सन नेपालले व्यवसाय नै बन्द गरेको हो । वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय बहिष्कार गर्ने सन नेपाल तेस्रो कम्पनी हो । यस अघि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल र मेट लाइफ इन्स्योरेन्सले पनि यो व्यवसाय बन्द गरेका छन् ।
वैदेशिक रोजगार म्यादी जीवन बीमाका लागी कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै नेपाल बीमा प्राधिकरणले दोस्रो पटक वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) सुरु गरेको हो । प्राधिकरणले गत भदौ १९ सामूहिक बीमा कोष स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन जारी गर्दै कम्पनीहरूले पाउने व्यवसायको हिस्सा समेत निर्धारण गरेको थियो । प्राधिकरणले गरेको यस्तो व्यवस्था प्रति सन नेपालले असहमति जनाउँदै आएको थियो । खुल्ला अर्थतन्त्रमा कम्पनीहरूले आफूखुसी व्यवसाय गर्न पाउनु पर्ने सन नेपालको धारणा थियो ।
सन नेपालले यस अघि पनि प्राधिकरणलाई पत्राचार गर्दै आफ्नो धारणा राखेको कम्पनीका सूचना अधिकारी गणेश चौलागाईंले बताए । ‘हामीले प्राधिकरण समक्ष आफ्ना विमति पठाएका छौं । यसलाई सम्बोधन नहुँदा सम्म हामीले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय स्थगित गरेका हौ । बन्द गरेका होइनौ,’ उनले भने । हामीले राखेको सर्त अनुसार काम भएमा हामी व्यवसाय पुन सुरु गर्न सक्छौं ।
वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ इन्स्योरेन्सको हिस्सा अधिक छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा ८ लाख ७९ हजार ८२९ वैदेशिक रोजगार बीमा पोलिसी सक्रिय छन् । सो अवधिमा कम्पनीले ९८ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अन्य कम्पनीको तुलनामा सन नेपालमा रहेको बीमा पोलिसीको संख्या अधिक हो ।
वैदेशिक रोजगार बीमालाई व्यवस्थित गर्न सन नेपालको ठूलो भूमिका छ । ‘हामीले पोलिसी विक्री गर्नका लागि सफ्टवेयर निर्माण गर्न देखि लिएर व्यवसाय प्रबर्द्धनमा ठूलो लगानी गरेका छौ । अहिले आएर प्राधिकरणले गरेको सामूहिक कोषको व्यवस्थाले हामी अन्यायमा परेका छौ,’ उनले भने ।
सामूहिक कोष सञ्चालनको विषयमा कम्पनीको असहमति रहँदै आएको प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बताए । ‘तर सबै बीमकको सहमतिमा वैदेशिक रोजगारी म्यादी जीवन बीमा सामूहिक कोष नै निर्माण भै सकेको र अन्य कम्पनी पनि तयार भएको अवस्थामा हामीले पुल सञ्चालन प्रक्रिया रोक्न सक्ने कुरा नै भएन,’ उनले भने । कम्पनीले वैदेशिक रोजगार बीमाको पुनर्बीमा यस अघि नै गरिसकेकाले प्राधिकरणको निर्देशन बमोजिम बीमा व्यवसाय गर्न नसक्ने धारणा राखेको उनले बताए ।
किन पछि हट्याे सन नेपाल ?
नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष (पुल) निर्देशन जारी गर्दै सबै बीमा कम्पनीहरूलाई व्यवसायको हिस्सा बाँडफाँड गरिदिएको छ । प्राधिकरणले सबै कम्पनीले गरेको कुल व्यवसायको ६० प्रतिशत व्यवसाय समान रुपमा बाँडफाँड गरिने र ४० प्रतिशत कम्पनीको बजार हिस्साको आधारमा गरिने व्यवस्था गरेको छ । दोस्रो वर्ष भने ६९.९० प्रतिशत समान रुपमा बाँडफाँड गरिने र ३०.१० प्रतिशत कम्पनीको बजार हिस्साको आधारमा वितरण गरिने व्यवस्था गरेको छ । तेस्रो वर्ष ९९.९० प्रतिशत समान रुपमा बाँडफाँड गरिने र ०.१० प्रतिशत बजारको हिस्साको आधारमा वितरण गरिने व्यवस्था गर्यो ।
प्राधिकरणको निर्देशन अनुसार पहिलो वर्ष सबै बीमा कम्पनीले ४ प्रतिशत व्यवसाय अनिवार्य रुपमा पाउने छन् । दोस्रो वर्ष ४.६६ प्रतिशत र तेस्रो वर्ष ६.६६ प्रतिशत व्यवसाय समान रुपमा पाउनेछन् ।
निर्देशन अनुसार कोषको व्यवस्थापकको रुपमा पुनर्बीमा कम्पनी रहनेछ । सबै कम्पनीहरूले गरेको व्यवसायको प्रिमियम व्यवस्थापक पुनर्बीमा कम्पनीमा जम्मा हुनेछ । पुनर्बीमा कम्पनीले नै प्राधिकरणको निर्देशनमा तोकिए बमोजिम कम्पनीहरूलाई प्रिमियम वितरण गर्नेछ । त्यसैगरी दायित्व पनि सोही बमोजिम वितरण गर्नेछ । यसो गर्दा व्यवसाय प्रवर्द्धन नगर्ने कम्पनीले पनि निश्चित प्रतिशत व्यवसायको हिस्सा पाउने भएपछि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विच्किएको हो ।
प्राधिकरणकै तथ्यांक अनुसार नेपालको वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायको सबैभन्दा ठूलो हिस्सा सन नेपालको छ । तथ्यांक अनुसार सन नेपालको बजार हिस्सा ३०.३२ प्रतिशत छ । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको छ । सो कम्पनीको बजार हिस्सा १७.२७ प्रतिशत छ । आईएमई लाइफ इन्स्योरेन्सको १२.४४ प्रतिशत छ । सूर्य ज्योति इन्स्योरेन्स कम्पनीको १०.०९ प्रतिशत वजार हिस्सा छ । सानिमा रिलायन्सको ७.२४ प्रतिशत छ भने रिलायबल नेपालको ५.८१ प्रतिशत छ । त्यसैगरी एशियन लाइफ इन्स्योरेन्सको बजार हिस्सा ५.०७ छ भने नेशनल लाइफको ६.५७ प्रतिशत छ । सिटिजन लाइफको बजार हिस्सा ४.७० प्रतिशत छ ।
प्राधिकरणले गरेको नयाँ व्यवस्था अनुसार यसअघि वैदेशिक रोजगार बीमा व्यवसाय नै नगरेका तीन वटा लघु जीवन बीमा र सामान्य रुपमा व्यवसाय गर्दै आएका कम्पनीले पनि समान रुपमा व्यवसाय पाउने भएका छन् । ३० प्रतिशत बजार हिस्सा ओगटेको सन नेपालको भागमा पहिलो वर्ष १६.१३ प्रतिशत मात्रै व्यवसाय पर्ने भएको छ ।
बन्द गर्दै ब्यूँताउँदै, निर्देशन जारी भएको सात महिना पछि मात्रै सञ्चालनमा आयो कोष
नेपाल बीमा प्राधिकरणले यस अघि पनि वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष (पुल) सञ्चालन गरेको थियो । धेरै गुनासो आउन थालेपछि प्राधिकरणले कोष नै बन्द गरेको थियो । प्राधिकरणले २०७५ साल माघ १ गते देखि सामूहिक कोष सुरु गरेको थियो । २०७९ असार देखि कोष भंग गरेको थियो ।
प्राविधिक रुपमा कठिन र जटिल खालका बीमा सामूहिक कोष खडा गरेर बीमा गर्ने अन्तराष्ट्रिय अभ्यास समेत भएको प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बताए । सोही अभ्यास अनुसार प्राधिकरणले यस अघि कोष खडा गरी व्यवसाय गर्ने प्रयास गरेको थियो । तर, कम्पनीहरूले नियमित तथ्यांक नपठाउने र उचित बिमांकीय मूल्याङ्कन पनि हुन नसकेको गुनासो आउन थालेपछि प्राधिकरणले कोष भंग गरेको उनले बताए । अहिले फेरी वैदेशिक रोजगार बीमामा चर्को कमिसनको खेल भएको भन्दै गुनासो आएपछि पुन: कोष नै सञ्चालन गर्ने कम्पनीहरूबीच सहमति भएको उनले बताए ।
प्राधिकरणले गत भदौमा नै निर्देशन जारी साउनबाट नै कोषबाट नै व्यवसाय गर्न भनेको थियो । तर, कोषको व्यवस्थापकको विषयमा सहमति हुन नसकेपछि गत फागुनबाट मात्रै कोष पूर्ण रुपमा सञ्चालनमा आएको हो । यो अवधिमा प्राधिकरणले दुई पटकसम्म निर्देशन संशोधन गरेको छ ।
प्राधिकरणले पहिलो पटक जारी गरेको निर्देशन अनुसार वैदेशिक रोजगार म्यादी जीवन बीमा बापत प्राप्त हुने बीमाशुल्क र दाबी व्यवस्थापन गर्न बीमकहरुद्धारा सामूहिक बीमा कोषको स्थापन गरिने प्रावधान थियो । त्यस्तै, कोषको सदस्य बीमकले मात्रै बीमा पोलिसी जारी गर्न पाउने व्यवस्था छ । सदस्य हुनका लागि वैदेशिक रोजगार विभागमा सूचीकृत हुनुपर्नेछ । सूचीकृत भएको अर्को महिना देखि मात्रै बीमक सामूहिक बीमा कोषका समावेश हुनेछ । सदस्य बीमकले बीमा पोलिसी जारी गर्दा प्राप्त गर्नै रकम रियल टाइमा कोषको खातामा जम्मा गर्नुपर्नेछ ।
पुनर्बीमकहरुले संयुक्त रुपमा कोष प्रबन्धकको कार्य गर्नेछन् । प्रबन्धकले बीमाशुल्क वापत प्राप्त रकम जम्मा गर्न सामूहिक बीमा कोषको छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्नेछ । बीमाशुल्क दैनिक रुपमा प्राप्त भए नभएको यकिन गर्नुपर्नेछ । सदस्य बीमकबाट प्राप्त भएको बीमाशुल्कबाट आवश्यक समायोजन गरी मासिक रुपमा प्राधिकरणले तोकेको व्यवसाय हिस्साको आधारमा बाँडफाँड गर्नुपर्नेछ ।
सदस्य बीमकले वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाट सिर्जित दाबी भुक्तानी गर्नुपर्नेछ । बीमकले आफुले जारी गरेको पोलिसीको विवरण दैनिक रुपमा कोष प्रबन्धक समक्ष पेश गर्नुपर्नेछ । बीमकले आफुले भुक्तानी गरेको दाबी बापतको रकम प्रत्येक महिनाको सात गते भित्र कोष प्रबन्धक समक्ष पेश गर्नुपर्नेछ ।
सदस्य बीमकले बीमा पोलिसी जारी गर्ने देखि दाबी भुक्तानी सम्मको कामको लागि व्यवस्थापन खर्च स्वरूप बीमा शुल्कको एक प्रतिशत हुने रकम पाउनेछ । कोष प्रबन्धकले बीमाङ्कीय मूल्याङ्कनको लागि लागेको वास्तविक खर्च सदस्य बीमकहरुमा बीमाशुल्क बाँडफाँडको आधारमा मिलान गर्नेछ । लगातार तीन महिनासम्म बीमा पोलिसी जारी नगर्ने बीमक कोषको सदस्यता स्वतः खारेज हुनेछ ।
प्राधिकरणले गत फागुन ६ गते निर्देशनको पहिलो शंसोधन गर्दै प्रत्येक पुनर्बीमकले चार वर्षको लागि पालैपालो कोषको व्यवस्थापन गर्ने व्यवस्था ग¥र्यो ।
गत वैशाखको १२ गते निर्देशनकाे दोस्रो शंसोधन गर्दै सदस्य बीमकले बीमालेख जारी गर्दा प्राप्त बीमा शुल्क सामूहिक कोषको खातामा प्रत्येक महिनाको १ गते देखि १५ गतेसम्मको विवरण १६ गते भित्र र १६ गते देखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गतेभित्र जम्मा गर्नुपर्ने व्यवस्था ग¥र्यो ।
त्यस्तै, प्रत्येक पुनर्बीमकले चार वर्षको लागि पालैपालो कोष प्रबन्धकको रुपमा कार्य गर्ने व्यवस्था ग¥र्यो । निर्देशनको अनुसूची हेरफेरको अधिकार प्राधिकरणको अध्यक्षलाई हुने व्यवस्था ग¥र्यो । त्यस्तै, कम्पनीहरूले पाउने व्यवसायको प्रतिशत पनि हेरफेर ग¥र्यो । दोस्रो शंसोधनबाट प्राधिकरणले कुल व्यवसायको ६० प्रतिशत व्यवसाय समान रुपमा बाँडफाँड गरिने र ४० प्रतिशत कम्पनीको बजार हिस्साको आधारमा गरिने व्यवस्था ग¥र्यो । दोस्रो वर्ष भने ६९.९० प्रतिशत समान रुपमा बाँडफाँड गरिने र ३०.१० प्रतिशत कम्पनीको बजार हिस्साको आधारमा वितरण गरिने व्यवस्था गरियो । तेस्रो वर्ष ९९.९० प्रतिशत समान रुपमा र ०.१० प्रतिशत बजारको हिस्साको आधारमा वितरण गरिने व्यवस्था गरियो ।
पहिलो निर्देशन अनुसार भने ६९ प्रतिशत बीमा व्यवसायलाई सबै बीमा कम्पनीलाई समान रुपमा वितरण गर्ने व्यवस्था गरिएको थियो । ३१ प्रतिशत भने कम्पनीको विगत दुई वर्षको बजार हिस्साको आधारमा वितरण गर्ने व्यवस्था थियो ।
कोष सञ्चालन भएको दोस्रो वर्ष भने ८५.५० प्रतिशत व्यवसाय सबै बीमा कम्पनीलाई समान रुपमा वितरण गर्ने र १४.५० प्रतिशत भने कम्पनीको बजार हिस्साको आधारमा वितरण गर्ने प्रावधान थियो । तेस्रो वर्ष ९९.९० प्रतिशत व्यवसाय समान रुपमा वितरण गर्ने र ०.१० प्रतिशत व्यवसाय समान रुपमा वितरण गर्ने व्यवस्था गरेको थियो ।
नेपालमा सञ्चालित कम्पनीमध्ये एलआईसी नेपाल र मेट लाइफले वैदेशिक रोजगार बीमा पोलिसी व्यवसाय यस अघि नै छाडी सकेको छन् । वैदेशिक रोजगार बीमामा धेरै दाबी पर्ने भएपछि कम्पनीहरूले व्यवसाय गर्न छाडेका हुन् । राष्ट्रिय बीमा संस्थानले वैदेशिक रोजगार बीमा व्यवसाय छाडेको थियो । प्राधिकरणले पुल सञ्चालन गरेपछि भने कम्पनीले फेरी व्यवसाय सुरु गरेको हो ।