काठमाडौं । वरिष्ठ अधिवक्ता प्राध्यापक डा. गान्धी पण्डितले अहिलेको कानूनले दलको सदस्य त्याग गरेको भोलिपल्ट गभर्नर बन्नका लागि नरोक्ने बताएका छन् । दलको सदस्य रहेका व्यक्तिलाई सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न लागेको हल्लाका बीच प्रा.डा. पण्डितले यस्तो बताएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐनको दफा २१ अनुसार कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी कायम रहेको व्यक्ति गभर्नरका लागि योग्य हुने छैन । यसको मतलब उक्त व्यक्तिले दलको सदस्य वा पदाधिकारी पद त्याग गरेर आएको खण्डमा कानूनले नरोक्ने उनले बताएका छन् ।
उनले भने, 'अहिलेको कानूनले दलको सदस्य वा पदाधिकारी कायम रहेको व्यक्तिलाई अयोग्य भनेको हो । सदस्य त्याग गरेपछि पनि सो व्यक्ति अयोग्य हुन्छ भनेको होइन्, त्याग गरे लगत्तै सो व्यक्ति दफा २१ को उपदफा (क) अनुसार योग्य हुन्छ ।’
अहिलेको कानूनले दलको सदस्य वा पदाधिकारी भएको यति समयसम्म योग्य हुने छैन भनेर कतै उल्लेख नगरेकाले पार्टी त्याग गरे लगत्तै सो व्यक्तिलाई गभर्नर बन्न कानूनले नरोक्ने उनको भनाई छ ।