पुनहरि बेल्बासे
भैहरवा । बुटवल उपमहानगरपालिकामा सस्तो लोकप्रियताका लागि काम अगाडि बढेको छ । संसारमा उद्घाटन एकपटक हुन्छ । तर यहाँ नगरप्रमुखले हरेक पोलमा नाम टाँसिरहेका छन् । जनतालाई यसले सस्तो प्रचारबाजीको अनुभूति दिएको छ ।
बुटवल उपमहानगरपालिकाले उज्योलो बुटवल कार्यक्रम अन्तर्गत पहिलो चरणमा २३ ओटा लाइटको लागि करिब ४ करोड खर्च गरेको छ । सहरको मुख्य क्षेत्रमा लाइट कम भएपछि दोस्रो चरणको काम सुरु गरेको छ । दोस्रो चरणमा करिब ३ करोडको लागतमा २६ ओटा लाइटको लागि काम धमाधम भइरहेको छ । उज्यालो बनाउनु राम्रो हो तर साना साना सडकको बिच भागमा लाइटको लागि पोल राख्दा आवत जावतमा समस्या देखिन थालेको छ ।
दोस्रो चरणको काम २०८१ माघ २३ गते बुटवलको ट्राफिक चोकमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र उप प्रमुख सावित्रादेवी अर्यालले संयुक्त रूपमा दोस्रो चरणको हाइमास्ट लाईट जडान कार्यको शिलान्यास गरे । बुटवलको राजमार्ग चौराह–गोलपार्क–चिडियाखोला सडक बिस्तार कार्य सम्पन्न भई बुटवलका मुख्य चोकहरूमा जडान हुने हाइमास्ट लाइट जडान कार्य सकिएपछि बुटवल उज्यालो र सुरक्षित सहरको रूपमा पहिचान हुने विश्वास गरिएको छ । उज्यालो र सुरक्षित हुने भएपनि प्रत्येक पोलमा नाम टाँसिएको विषयमा निन्दा गरिएको छ ।
होटल व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष माधव खनालले उज्यालो बुटवल बनाउनुको परिकल्पना राम्रो भएको बताउँदै हाइमास्ट लाइट जडान गरे जती ठाउँमा नगर प्रमुखको नाम ताम्रपत्रमा लेखिनु देखावटी रहेको बताए । उनले नगरपालिकाले विकासको कनीका छरे जस्तै प्रचार गर्नु निन्दनिय कार्य रहेको बताए ।
नेकपा एमाले बुटवल उपमहानगर कमीटीको नगर अध्यक्ष शोभाखर पोखरेलले कामले मानिसको पहिचान दिने बताउँदै सस्तो लोकप्रियताका लागि नगरप्रमुख खेलराज पाण्डेले पोलमा ताम्रपत्र टाँसेको बताए ।
उनले बुटवलमा अहिले कतै अन्धकार छ भने कतै गाडी पनि घुम्न नमिल्ने ठाँउमा हाइमास्ट लाइट जडान भएको देख्दा कतै नगपालिकाका जनप्रतिनिधि कमीसनमा बिकेका पो छन् की भन्ने आसंका लाग्ने गरेको बताए । पोखरेलले २ वर्ष अगाडी मात्र जडान गरीएका हाइमास्ट लाईटहरु चलिरहेकै अवस्था हुँदाहुँदै पनि नया जडान गर्दा जनताकै पसिनाबाट संकलित कर दुरुपयोग भएको बताए ।
उपभोक्ता हित संरक्षण मन्चका बुटवल नगर अध्यक्ष समुन्द्र जिसीले साघुरो ठाँउमा जडान गरिएका हाइमास्टलाईटका कारण दुर्घटनाको जोखिम बढेको बताए ।
उनले लाइट जडान सकारात्मक विषय भएपनि नगरपालिकाले प्राविधिक हिसाबले ध्यान नदिइ विकास गर्न खोज्नु गलत रहेको बताए ।
संसारमै उद्धघाटन भन्ने कुरा एक पटक मात्र हुने गर्छ तर बुटवलका जनप्रतिनिधिले बुटवलमा लगाइएका हाइमास्टलाइटका पोलभरी आफ्नो करकलमबाट उद्धघाटन गरेको कुरा जनतालाई पाच्य नभएको रुपन्देही व्यापार संघको पूर्व अध्यक्ष यमलाल लोहनीले बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले लाइटको काम त उज्यालो दिने भएको बताउँदै पोलमा नाम झुण्ड्याउनु गलत भएको बाताए ।
उता नगरपालिकाका निर्देशक इन्जिनियर सुमन श्रेष्ठले पालिकाले नयाँ प्रविधिलाई पछ्याउँदै पुराना जटित लाइटहरु अन्यत्र लगेको बताए । उनले मुख्य चोकहरुमा नयाँ प्रविधि सहितका लाइटहरु जडान गरेको बताए ।
निर्देशक श्रेष्ठले नगरबासीले समस्या भयो भन्दै पालिका आएमा पालहरु अन्त्रय सारिने बताए ।
उज्यालो सहर बनाउने यात्रा सराहनीय हो । तर सँगै विकासको नाममा देखावटी कार्य, दोहोरो खर्च र पारदर्शिताको अभावले जनताको विश्वास गुम्न नदिन स्थानीय तह सजग हुन जरुरी देखिन्छ ।