काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणहरु धमाधम सार्वजनिक गरिरहेको अवस्थामा नेप्सेमा भने निरन्तर गिरावट आएको छ । अधिकांश कम्पनीहरुले विगतको तुलनामा सुधारिएको विवरण प्रकाशित गरे पनि शेयर बजार भने निरन्तर ओरालो लागेको छ ।
गत बुधबार ६२ अंकले बढेको नेप्से त्यसयताका ३ कारोबार दिनमा भने दोहोरो अंकले घटेको छ । गत विहीबार १२ अंकले घटेको नेप्से आइतबार पनि १२ अंकले ओरालो लागेको थियो । सोमबार सार्वजनिक विदाका कारण शेयर बजार बन्द रह्यो । मंगलबार पनि नेप्से सूचक दोहोरो अंकले ओरालो लागेको छ । पछिल्लो समयमा गभर्नर नियुक्तिको बिषयमा नयाँ नयाँ ट्विष्ट आएकाले शेयर लगानीकर्ताको मनोबल खस्किएको हो ।
आगामी आर्थिक वर्षको बजेटसँगै चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने मिति नजिकिँदै गर्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । जेठ १५ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको सरकारले आफ्नो नीति तथा कार्यक्रम एंवम बजेटका प्राथमिकता र सिद्धान्त समेत सार्वजनिक गरिसकेको छ । यसप्रति पनि लगानीकर्ता खासै आशावादी बनेका छैनन् ।
मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटेर २ हजार ६ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ बराबरको कारोबार भएको छ ।
विकास बैंक समूह शून्य दशमलव ८८, जीवन बीमा शून्य दशमलव ९५ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ३०, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन दुई दशमलव २१, जलविद्युत् एक दशमलव १८ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले घटेको छ ।
त्यसैगरी, लघुवित्त शून्य दशमलव ६९, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा समूह शून्य दशमलव ५९, व्यापार दुई दशमलव ४६ र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेको छ ।
आजको कारोबारमा क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ । यो कम्पनीको रु ६७ करोड २० लाख ८५ हजार ८० बराबरको १५ लाख ४६ हजार चार सय ८९ कित्ता शेयर किनबेच भएको छ ।