काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले २०८२ वैशाख ३० मा “निफ्रा हरित उर्जा ऋणपत्र ६% २०८८-८९” नामक हरित ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंक (निफ्रा) ले ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६% (२०८८–८९)” नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बोर्डबाट अनुमति पाएसँगै निफ्राले ५ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । कुल निष्कासन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने निफ्राले जनाएको छ ।
उक्त ऋणपत्रबाट संकलित पुँजी पर्यावरण मैत्री परियोजना संचालनका साथै दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी उक्त अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ ।
कम्पनीले एनआइएमबी एस क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।