शीर्षकहरू

अधिकांश बैंकहरुको मुद्दती निक्षेपको व्याजदर स्थिर रहेपनि औसतमा घट्यो

अधिकांश बैंकहरुको मुद्दती निक्षेपको व्याजदर स्थिर रहेपनि औसतमा घट्यो

काठमाडौं । विगत २ वर्ष यतादेखि वित्तीय प्रणालीमा अघिक तरलताको अवस्था छ । लामो समयदेखि अधिक तरलता कायम रहेको भन्दै हरेक महिना बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । पछिल्लो २ महिना यता भने अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । 

बैंकहरुमा अधिक तरलता भएर राष्ट्र बैंकले तरलता खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका छन् । सोही क्रममा बैंकहरुले जेठ महिना लागि पनि निक्षेपको नयाँ ब्याजदर प्रकाशित गरेका छन् । 

संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये जेठका लागि ३ वटा वाणिज्य बैंकले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन भने ३ वटाले घटाएका छन् । बाँकी १४ बैंकले एकवर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यसअनुसार जेठमा व्यक्तिगततर्फ एकवर्षे मुद्दती निक्षेपको औसत ब्याजदर ५.९५ र संस्थागतर्फ ४.३६ प्रतिशत कायम भएको छ । वैशाखमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ५.९८ र न्यूनतम ४.३९ प्रतिशत थियो । 

जेठ महिनाका लागि नेपाल, एभरेस्ट र सानिमा बैंकले वैशाखको तुलनामा ब्याजदर सामान्य बढाएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी र सिद्धार्थ बैंकले सामान्य घटाएका छन् । अन्य बैंकहरुले भने वैशाखकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् । कर्जा लगानी विस्तार नभएमा आगामी २ महिना पनि अधिकांश बैंकहरुको निक्षेपको ब्याजदर स्थिर रहने विश्लेषण हुन थालेको छ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर र संस्थागत निक्षेपमा दिने ब्याजदरको अन्तर न्यूनतम १ प्रतिशत विन्दु हुनुपर्ने व्यवस्था गरेको छ । बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि त्यसकै आधारमा बचत, कल निक्षेपसँगै संस्थागत निक्षेपको ब्याजदर घटाउने गरेका छन् । 

लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको अबलम्वन गरेको देखिन्छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा आधार दर घटने हुँदा कर्जाको ब्याजदरमा पनि ऋणीलाई राहत हुन्छ । 

पछिल्लो समयमा सबै प्रकारका कर्जाको औसत ब्याजदर पनि ९ प्रतिशत तल झरिसकेको छ । बचतको ब्याजदर बढिहाल्ने अवस्था नभएकाले कर्जाको ब्याजमा पनि तत्काल परिवर्तन नआउने बैंकरहरुको भनाई छ । अहिले वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.२२ प्रतिशतमा झरिसकेको छ । कर्जाको ब्याजदर तल्लो विन्दुमा आएपनि कर्जाको माग खासै बढ्न नसकेको बैंकरहरु बताउँछन । अर्थतन्त्र गतिशील नहुँदा आर्थिक गतिविधि प्रभावित भएकाले कर्जाको माग नबढेको उनीहरुको भनाई छ ।

null