काठमाडौं । अर्थ मन्त्रालय मातहतका निकायले ४ खर्ब ३५ अर्ब २२ करोड राजस्व तथा भाखा नाघेको ऋणको साँवा ब्याज असुल गर्न बाँकी रहेको छ । महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
सो रकम मध्ये राजस्व बक्यौता २ खर्ब ५४ अर्ब ४ करोड रहेको छ । १ खर्ब २३ अर्ब ८० करोड (४८.७३ प्रतिशत) को सम्बन्धमा करदाताहरू न्यायिक पुनरावलोकनमा गएको देखिँदा बक्यौताको ठूलो हिस्सा न्यायिक निकायमा विचाराधीन रहेको देखिन्छ । नेपाल सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण लगानीको भाखा नाघेको साँवा ब्याज १ खर्ब ८१ अर्ब १८ करोड रहेको छ ।
भाखा नाघेको ऋणको सावाँ र ब्याजमध्ये नेपाल विद्युत प्राधिकरणको १ खर्ब २४ अर्ब ४ करोड (६८.४७ प्रतिशत) रहेको छ । यस्तै हाल सञ्चालनमा नरहेका १४ संस्थानको १ अर्ब २२ करोड ५० लाख सावाँ तथा ५ संस्थानको २४ करोड ६४ लाख ब्याजको भाखा नाघेको छ ।
यसैगरी १२ स्थानीय तहमा १ अर्ब १८ करोड ६२ लाख ऋण लगानी गरेकोमा सावाँ १ अर्ब १८ करोड ३० लाख र ब्याज रु.१ अर्ब ७७ करोड ३८ लाखको भाखा नाघेको छ । भाखा नाघेको सावाँ र ब्याज रकम तथा राजस्व बक्यौता लगायतका रकमहरू कानुनी प्रक्रियाबमोजिम असुल गर्न माहालेखाले सुझाएको छ ।