काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र नेशनल प्याब्सनबीच व्यवसायीक सहकार्य सम्बन्धी सम्झौता भएको छ । कम्पनीको प्रदेश कार्यालय, गैह्रिधारामा बुधबार उक्त सम्झौता भएको हो । दुवै पक्षको हित हुने गरी उक्त सम्झौता गरिएको कम्पनीका सूचना अधिकारी सुशान्त थापाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेशनल प्याब्सनकी सभापति गीता क्षेत्री राणाले कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । कम्पनीले पछिल्लो समय 'विद्यार्थी सुरक्षा योजना’ नामक नयाँ लघु बीमालेख सार्वजनिक गरेको छ । उक्त बीमालेख नेपाल बीमा प्राधिकरणबाट हालसालै स्वीकृत भएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमालले उक्त पोलिसिका विषयमा नेशनल प्याब्सनसँग सहकार्य गर्न पाउँदा झन् खुशी लागेको उल्लेख गरेका छन् । समझदारी पत्रमा कम्पनीको तर्फबाट सीईओ रिमाल र नेशनल प्याब्सनका तर्फबाट सभापति राणाले हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अनिल राज गिरी र नेशनल प्याब्सनका वरिष्ठ उपसभापति सूर्य बहादुर अधिकारी लगायतको उपस्थिति रहको थियो ।